कोरोना बीमाको दाबी भुक्तानी आजदेखि : २५ हजारमध्ये पहिलो चरणमा १८ हजार ६० वटा पोलिसीको भुक्तानी गरिने

 मंसिर १३, २०७९ मंगलबार ७:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने भएका हुन् ।

बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक सङ्घले जनाएको छ ।

सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्दा एक अर्ब एक करोड रुपैयाँ मात्रै भुक्तानी गर्न सकिन्छ ।

यो रकमबाट १८ हजार ६० वटा बीमा पोलिसीको मात्रै दाबी गर्न सकिने सङ्घको भनाइ छ । कम्पनीहरूले रकम थप गर्न नमानेपछि सरकारले रकम निकासा गरेको एक महिना बितिसक्दा पनि कोरोना दाबी रकम भुक्तानीमा ढिलाइ भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीले रकम थप नगर्ने बीमा प्राधिकरणलाई जवाफ दिएको छ । सरकारले दिएको एक अर्ब रुपैयाँ र आफ्नो ८ प्रतिशत दायित्वबापत १४ करोड ५४ लाख रुपैयाँ गरी कुल १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ यसअघि नै बीमा प्राधिकरणले सङ्घलाई दिइसकेको छ ।

सरकारले पैसा नदिएको भन्दै बीमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बीमाको भुक्तानी रोकेका थिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया