अर्थतन्त्र सङ्कटमा छ भन्नु गलत हाे : अर्थमन्त्री शर्मा

 मंसिर १५, २०७९ बिहीबार १५:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गर्नुभएको छ । आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताउनुभएको हो । देशको अर्थतन्त्रमा सङ्कट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीतिक व्यक्तित्वलाई उहाँको आग्रह छ । 

गभर्नर अधिकारीले  निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी सङ्कटमा परेको छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकै पटक माथि जाने खालको नभएको दाबी गर्नुभयो । नेपालको अर्थतन्त्रका सूचकहरू क्रमिकरूपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो । नेपालको अर्थतन्त्र सङ्कटमा छैन । हाम्रो अगाडि केही दबाब र चुनौतीहरू छन् । ती चुनौती र सामना गर्ने उपायहरू खोज्नुपर्छ । तर सङ्कटमा छ भन्नु गलत हो । मिश्रित खालको अर्थतन्त्र भएकाले नेपालको अर्थतन्त्र एकै पटक माथि पुगेर तल झर्ने प्रकृतिको होइन । अर्थतन्त्रका सूचकाङ्क सुधारोन्मुख छन् । रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र पर्यटन क्षेत्रमा भएको विकास हेर्दा त्यो पाउँछौँ । अर्थतन्त्रमा प्रायः सूचकहरू सकारात्मक छन् भने कहाँ छ सङ्कट ?’

मन्त्री शर्माले दुरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधारमा लगानी बढाउन सक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट एक घण्टामा काठमाण्डौ आउन सक्ने वातारण बन्ने भन्दै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले युवालाई प्रविधि क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्ध बन्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया