कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
प्राकृतिक स्रोत साधनले निकै भरिपूर्ण भए पनि हामी पूर्वाधार विकासका हिसाबले धेरै नै पछि परेका छौँ । सङ्कटबाट समुन्नतितर्फको यात्राको कुरा गरिरहँदा हामीले विगत, वर्तमान र भविष्य गरेर तीन चरणमा व्याख्या गर्नुपर्छ ।
विगतमा के भयो र के हुन सकेन, वर्तमानमा के भइरहेको छ र भविष्यका लागि के गर्नुपर्छ भन्नेबारे छलफल गरेर त्यसैअनुसारको परिकल्पना र त्यसलाई साकार रूप दिन हामी पछि परेका छौँ । तथापि अब हामीसँग भएको इच्छाशक्ति र स्रोत साधन उपयोग हुने चरणमा रहेकाले समृद्धिको क्षितिजमा उज्यालो देखिने आशा बढेको छ ।
अवसर पाएर पनि सदुपयोग नभएको विगत
नेपालमा आर्थिक र सामाजिक विकासका लागि विगतमा थुप्रै अवसर प्राप्त भएका थिए । तर विभिन्न बहानामा आर्थिक विकासको प्रयास कम नै भयो । २०४७ सालसम्म नेपालमा मध्यम खालको विकास भएको थियो । आवधिक योजनाअनुसार त्रिवर्षीय र पञ्चवर्षीय योजना थालनी भएका थिए । २०४७ सालसम्म हामी निकै उत्तम र निकै खत्तम अवस्थामा नभइ औसत विकासको चरणमा थियौँ । तर २०४७ सालपछि नयाँ संविधान जारी हुने समय २०७२ सालसम्म नेपालमा आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा खास प्रगति हुन सकेन । जलविद्युत्, सडक, हवाई पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा हामी पछाडि नै परेको हो । २०७२ सालपछि भने विकास र समृद्धिका लागि बहसको सुरुवातले राम्रो स्थान पायो । संविधान जारी भएपछि राजनीतिक दलले पनि विकासका एजेन्डालाई बहसमा ल्याउन थाले । यो बीचमा तामाकोसी, चमेलियालगायत जलविद्युत् आयोजना, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्गलगायत सडक, त्रिभुवन विमानस्थल विस्तार, गौतमबुद्ध विमानस्थललगायत पूर्वाधार बने । केही ठूला अस्पताल बने, जिल्ला अस्पताल र स्वास्थ्य चौकीको क्षमता विस्तार भयो । कानुनमा सुधार भयो तर त्यसलाई नतिजा दिने गरी व्यवहारमा कार्यान्वयन भएन । कुरा धेरै र काम कम भयो । हाम्रोजस्तो भौगोलिक अवस्था भएका थुप्रै देशले धेरै नै प्रगति गरेका छन् । हामी भने विभिन्न बहाना बनाएर पछि परिरहेका छौँ । जता हेर्याे त्यतै निराश हुने अवस्था त होइन तर हामीले जति गर्न सक्थ्यौँ त्यति गर्न नसकेको पक्कै हो । जुन गतिमा आर्थिक विकास हुनुपर्ने त्यो पनि भएन भन्न खोजिएको हो ।
औसत वर्तमान
विकास र समृद्धिका कुरा गर्दा वर्तमान अवस्थालाई हामीले औसतरूपमा लिनुपर्छ । समावेशी र सन्तुलित विकासको बहस थालनी भएको छ । पछिल्ला एक–दुई वर्षमा ठूला र हाम्रो आर्थिक विकासमा सकारात्मक योगदान दिन सक्ने आयोजना सुरुवात भएको छ । अन्धाधुन्ध विकासको गतिमा ब्रेक लाग्ने सङ्केत देखिएका छन् । विकास गर्दा वातावरण र नकारात्मक सामाजिक असरको मूल्याङ्कन हुन थालेको छ । अब पनि नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्छ भन्ने इच्छाशक्ति देख्न सकिन्छ ।
आशालाग्दो भविष्य
अवसरको सदुपयोग नभएको विगत र औसत वर्तमानपछि नेपालमा अब भने आशालाग्दो भविष्य देखिएको छ । भर्खरै सम्पन्न चुनावमा युवा पुस्ताले प्रतिनिधित्व बढाएका छन् । विविध क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति निर्वाचित भएका छन् । चुनावमा भोट माग्न गएका उम्मेदवारलाई नागरिकले निर्भिक भएर प्रश्न उठाएका छन् । चाहेर र नचाहेर पनि दल र नेता, विकास र समृद्धिको नारा लगाउन बाध्य हुने अवस्था सिर्जना भएको छ । जलविद्युत् उत्पादनमा हामी निकै अगाडि पुगेका छौँ । केही वर्षमा ठूलो परिमाणमा विद्युत् निर्यात हुँदैछ । काठमाण्डौ–तराई– मधेस द्रुत मार्ग केही वर्षमै पूरा हुँदैछ । पूर्व–पश्चिम राजमार्ग विस्तार भइरहेको छ । उत्तरी छिमेकी देशका नाकासम्म पुग्न सडक चौडा भइरहेका छन् । पर्यटकीय क्षेत्रमा ठूला पूर्वाधार बनिरहेका छन् । सुनकोसी–मरिण डाइभर्सनको काम सुरु भएको छ । भेरी, बबई र सिक्टा सिँचाइले हजारौँ बिघा क्षेत्र सिञ्चित हुनेछ । विश्वविद्यालयको पढाइमा पनि गुणस्तर बढ्दै गएको छ । सीपयुक्त शिक्षामा सरकारले लगानी बढाउन थालेको छ । गाउँ घरमा साना र लघु उद्यमको सङ्ख्या बढिरहेको छ । साक्षरता दर बढेको छ । महिला घरको चुल्होचौकाबाट बाहिर निस्केर व्यवसायका काममा लागेका छन् । यी सबै विषय हेर्दा हाम्रो भविष्य उज्ज्वल छ भन्ने नै देखिन्छ । उज्वल भविष्यका लागि के गर्ने त ?
परिकल्पना– परिकल्पनाविना विकास र समृद्धि सम्भव छैन । हामीले उडन्ते र पूरा गर्न नसकिने परिकल्पना गर्नुहुँदैन । तर दिगो समयसम्मका लागि लागत र प्रतिफल तथा समाजमा पर्ने सकारात्मक असरबारे अध्ययन गरेर परिकल्पना गरियो भने हामीलाई लक्ष्य प्राप्तिमा सहज हुन्छ ।
लगानी अत्यावश्यक– नेपालमा अब लगानीको निकै जरुरी छ । समृद्ध नेपाल निर्माणका लागि ठूलो मात्रामा विदेशी र स्वेदशी लगानी आवश्यकता पर्छ । अहिले देशमा पनि लगानीयोग्य रकम खासै छैन, विदेशी लगानी पनि आकर्षित हुन सकेको छैन । अब हामीले कुनै वाद र राजनीतिक प्रणालीका नाममा लगानीलाई निरुत्साहित गर्ने काम गर्नुहुन्न । चीनजस्तो कम्युनिस्ट शासन भएको देशमा त लगानी भित्र्याउन कति धेरै लचक नीति छन् भने हामीले किन सहज नबनाउने ?
रोजगारी सिर्जना जरुरी– देशमा न्यूनतम तलब नपाएकै कारण र दुई छाक खान नपुगेकै कारण लाखौँ युवा विदेश जान बाध्य छन् । युवा शक्ति भनेको देशका लागि नगदभन्दा पनि ठूलो सम्पत्ति हो । तर सरकारले त्यो सम्पत्तिलाई निकै सस्तो तलबमा विदेश पठाइरहेको छ । देश बनाउने हो भने युवा पलायन रोकेर देशमा रोजगारी सिर्जना गर्नुपर्छ । त्यसका लागि ठूलो लगानी र भिजन अत्यावश्यक भइसक्यो ।
सकारात्मक सोच अति जरुरी– हामी नेपालीमा सकारात्मकताको पनि अति जरुरी देखिन्छ । हरेक ठाउँमा निराशा र आक्रोश बढ्दै गएको देखिन्छ जुन समृद्ध भविष्यका लागि बाधक बन्न सक्छ । घर परिवार र समाज हुँदै देशको नेतृत्व गर्नेमा सोच हुन निकै जरुरी छ । सकारात्मकताले नै हामीलाई गन्तव्यमा पुग्न प्रेरित गर्दछ अनि विवादको सहज समाधानमा पनि यसले निकै महत्त्वपूर्ण भूमिका खेल्दछ ।
क्षमता र सीपसहितको शिक्षा– नेपालमा अझै पनि शिक्षालाई प्रमाणपत्रसँग जोडेर हेरिन्छ । विश्वविद्यालयमा पढ्ने विद्यार्थीको उद्देश्य नै प्रमाणपत्र ल्याउनेजस्तो देखिन्छ । तर हामीले यो सोच त्याग्नुपर्छ । शिक्षालाई व्यक्ति, समाज र देशको उन्नतिसँग जोडेर हेर्नुपर्छ ।
विकसित देशबाट सिक्ने विषय– हामीले दिगो र समावेशी विकास गर्न विश्वका केही राम्रा देशबाट पाठ सिक्नुपर्छ । त्यसका लागि हामीले नेतृत्वकर्तालाई ती देश भ्रमण गराएर पाठ सिकाउनुपर्छ । विकास निर्माणमा लगानी कसरी जुटाउने, समस्यासँग कसरी जुध्ने, विवाद र समस्या कसरी समाधान गर्ने लगायत विषयमा हामीले राम्रो पाठ सिक्न सक्छौँ ।
विश्वविद्यालयजस्ता संस्था बलियो– समृद्धि र विकास भन्ने विषय भौतिक विकास र सुखसँग मात्रै जोडिएको हुँदैन । यो त बौद्धिकता र सिर्जनशिलतासँग पनि उत्तिकै सम्बन्धित छ । समाजका रक्त सञ्चारका रूपमा रहेका विश्वविद्यालय र विभिन्न अध्ययन प्रतिष्ठानलाई राज्यले संरक्षण र विस्तार गर्नु आवश्यक छ ।
पुराना पुस्ताको योगदानलाई सम्मान– भर्खरै सम्पन्न भएको चुनावमा नेपालमा धेरै युवायुवतीले उम्मेदवारी दिए । कतिपयले जितेका पनि छन्् । डाक्टर, इन्जिनियर, सामाजिक अभियन्तालगायतले चुनावमा जितेका छन्, यो सबैका लागि राम्रो कुरा हो । तर चुनावका क्रममा केही सचेत र शिक्षित भनिएका युवाले नै अग्रजलाई गाली गरेको पाइयो । अब नयाँ पुस्ता आइसक्यो पुराना पुस्ताको काम छैन भन्ने भाषण पनि सुनियो । तर यो कुरा गलत छ । इतिहासका राम्रा पक्षको अनुशरण र अग्रजको सम्मानविनाको विकास र समृद्धिको अर्थ छैन ।
(नेपाल खुला विश्वविद्यालयकी उपकुलपति मानन्धरको यो विचार सेजन अर्थनीतिबाट साभार गरिएको हो ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मानन्धर नेपाल खुला विश्वविद्यालयकी उपकुलपति हुनुहुन्छ ।