प्रतिनिधिसभामा १२ वटा दल, ७ दललाई राष्ट्रिय मान्यता

 मंसिर २१, २०७९ बुधबार १२:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् ।

निर्वाचन आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार मतगणनाको काम सकिएसँगै दलले पाउने सिट संख्याको टुंगो लगाएर आजै दलहरुलाई पत्राचार गरिनेछ । अन्तिम मत परिणामअनुसार कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८ सय २ मत आवश्यक पर्ने आयोगले जनाएको छ ।

समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन भने सकेन । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई १८ हजार ४ सय ११ मत अपुग भएको छ । थ्रेसहोल्ड नकटाउने अरु ४० वटा दलले प्राप्त गरेको समानुपातिकतर्फको मत पनि खेर गएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी एमालेले थ्रेसहोल्ड कटाउने ७ दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । एमालेले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेको प्रत्यक्षमा ४४ सिट छ । कुल ७८ सिटसहित एमाले दोस्रो दल बनेको छ ।

समानुपातिकमा दोस्रो रहेको नेपाली कांग्रेसले झण्डै २९ प्रतिशत मत प्राप्त गरेको छ । कांग्रेसले ३२ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकको ३२ गरी कांग्रेस कुल ८९ सिटसहित पहिलो दल बनेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले झण्डै १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी ३२ सिट पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकमा १२ प्रतिशत मत प्राप्त गरी १३ सिट पाउने भएको छ । स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ । कुल २० सिटसहित स्वतन्त्र पार्टी चौथो दल बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । राप्रपाले ७ सिट पाउने भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको गरी राप्रपाको १४ सिट हुने भएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । उसले ५ सिट पाउने छ । जसपाको प्रत्यक्षतर्फ ७ सिट रहेको छ । जसपाको समग्रमा १२ सिट हुनेछ । त्यस्तै जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतको प्रत्यक्षमा १ सिट छ । जनमतको कुल ६ सिट हुनेछ । निर्वाचन आयोगले अन्तिम विवरण तयार पार्ने काम भैरहेको जनाएको छ ।

प्रतिनिधि सभामा १६५ क्षेत्रमध्ये प्रत्यक्ष सिटमा विजयी भएर पनि थ्रेसहोल्ड नकटाएर राष्ट्रिय दल नबनेका दलमा एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा रहेका छन् । 
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया