‘कर्मचारीकाे सुविधा बढाऔँ भन्यो भने जनता के भएका छन् भन्ने अवस्था छ’

संसद् सचिवालयका कर्मचारीको सुविधा बढाउने अवस्था छैन : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

 मंसिर २७, २०७९ मंगलबार १६:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । संसद् सचिवालयका कर्मचारीले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । 

संसद् सेवा दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशको आर्थिक अवस्थामा सुधार नआइ संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने बताउनुभयाे । अध्यक्ष तिमिल्सिनाले नागरिकको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराउनुभयो । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरूलाई सम्बोधन गर्न जोड दिने उहाँकाे आश्वासन थियो । 

उहाँले भन्नुभयो, ‘संसद् सचिवालयका कर्मचारीको सेवा, सुविधा बढाउने अहिले कहीँ पनि ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिउँ, अलिकति बढाऔँ भन्यो भने जनता के भएका छन् भन्ने अवस्था आइराखेको छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरू पनि पूरा हुने हुन । अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । त्यस कारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुरालाई पनि जोड दिन सक्छौँ ।’

अध्यक्ष तिमिल्सिनाले संसद्को काम–कारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद् अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा देशमा प्रजातन्त्र कमजोर हुन पुगेको बताउनुभयो । उहाँले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले नागरिककाे सार्वभौम निकायको रूपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गर्नुभयो । 

पूर्वसभामुख रानाभाटले संसद्लाई कमजोर हुन नदिए मात्रै देशमा प्रजातान्त्रिक शासन व्यवस्था बलियाे भएर जाने बताउनुभयाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया