देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

 पुष ५, २०७९ मंगलबार १५:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

उम्मेदवारी दर्ता गराउँदै देउवा र थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताउनुभएको छ । 

आज मङ्गलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि नेता थापाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसमा खुसी र उत्साह हुने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवाले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा एउटा ऐतिहासिक दिन हुनेछ । यसले नेपाली कांग्रेसभित्र एउटा नयाँ उत्साहको तरङ्ग ल्याउनेछ भन्ने विषयमा मनन गर्न आग्रह गर्दछु । आम मतदाताकाे प्रतिनिधित्व नेपाली कांग्रेसबाट निर्वाचित सांसदले भोलिको चुनावमा गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गर्नुभयो । उहाँले संसदीय दलको चुनाव पार्टीको आन्तरिक चुनाव नभएकाले नागरिकलले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गर्नुभयो । उहाँले संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताउनुभयो । 

महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ । संसदीय दलको चुनाव बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया