निर्णायक मानिएको कांग्रेस र माओवादीको बैठक बालुवाटारमा सुरु

 पुष १०, २०७९ आइतबार ११:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारको नेतृत्वका लागि निर्णायक मानिएको कांग्रेस र माओवादीको बैठक सुरु भएको छ । बैठक केहिबेर अघि बालुवाटारमा सुरु भएको हो । आजको बैठक मुख्य गरी सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्नेबारेमा केन्द्रित छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा घर्किनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न भने सकेको छैन । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ ।

राष्ट्रपति भण्डारीले गएको पुस ३ गते  दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । सत्तागठबन्धनका पाँच  दल  कांग्रेस, माओवादी  केन्द्र, नेकपा (एकीकृत  समाजवादी), लोकतान्त्रिक   समाजवादी   पार्टी र  राष्ट्रिय  जनमोर्चा सरकार गठन र शक्ति बाँडफाँटको औपचारिक सहमति जुटाउन निरन्तर गृहकार्यमा छन् ।

सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पदमा जिम्मेवारी बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारका  प्रवक्ता  तथा  सञ्चार  तथा  सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । माओवादीलाई मनाउन देउवाले दुई विकल्प अगाडि सार्नुभएको छ ।

एकीकृत समाजवादीलाई राष्ट्रपति दिने र माओवादीलाई सभामुख दिने उहाँको प्रस्ताव छ । तर कांग्रेसभित्रै राष्ट्रपति छाड्न नहुने अडान पनि छ । आज सहमति नभए ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस सभापति देउवाको रणनीति छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया