साउदीमा मेरो तलब हाम्रा प्रधानमन्त्रीको भन्दा धेरै छ

 असोज २२, २०७५ सोमबार १७:१७:१० | मेरो कथा मेरो भोगाई

जितु खड्का/साउदी अरेबिया । 

म अहिले साउदीमा काम गर्छु । यहाँ काम गर्न थालेको १६ वर्ष भइसक्यो । यी १६ वर्षका सुखदुःख अचम्मका छन् । 

सुरुका दिनमा भाषा जानिएन । अरबी भाषा चल्दो रहेछ । अरबीको अ पनि जान्दैन थिएँ । फेरि काम पनि सम्झौता भन्दा फरक पर्‍यो । सुरुमा रेडियो र टिभी बनाउने काममा भनेर आएको तर ‘टि ब्वाई’को काम पाइयो । 

दुई महिना त्यही काम गरेँ । पछि साहुले धर्म परिवर्तन गर्न दवाव दिए । मलाई आफ्नो धर्म छाड्न मन लागेन । त्यसपछि मलाई सुक्को पैसा पनि दिएनन् । 

काम नराम्रो भएपछि मैले साहु परिवर्तन गर्न खोजेँ । साहुले दिएनन् । मैले बरु अवैधानिक भएरै काम गर्छु तर तिम्रो काम गर्दिन भनेपछि साहु माने ।

भिसा, हवाई टिकट र यहाको अस्थाई परिचयपत्र बनाएको पैसा हिसाब गर्दा मैले चार महिना गरेको काम वापतको तलबमा पनि १५ सय रियाल थप्न पर्‍यो । 

सापट खोजेरै मैले त्यो काम छाडेर अल–साफी डेरी फारममा काम गर्न थालेँ । यो कम्पनीमा सुरुमा पाँच सय रियालमा काम गरेको हुँ । अथवा त्यो बेलामा मेरो तलब जम्मा १० हजार रुपैयाँ हुन्थ्यो । पद लेवरको थियो । 

अहिले म यही कम्पनीमा क्वालिटी कन्ट्रोल ल्याबमा टेक्निसियनको हैसियतमा काम गर्छु । हप्तामा दुई दिन बिदा पाइन्छ । वर्षमा एक पटक एक महिनाको बिदामा घर फर्किन पाइन्छ । एक महिना बिदा बस्दाको तलब सहित कम्पनीले नै दुईतर्फी टिकट उपलब्ध गराउँछ । 

साथै मैले नेपालको आन्तरिक विमान चढेँ भनेपनि बिल दिएपछि पैसा खातामा हालिदिन्छ । तलब चाहिँ नेपालका प्रधानमन्त्रीको तलब भन्दा अलि बेसी हुन्छ । (स्मरण रहोस २०७३ साउन १ गतेदेखि प्रधानमन्त्रीको मासिक पारिश्रमिक (सेवा सुविधा बाहेक) ७७ हजार २७५ रहेको छ ।) 

मेरो साउदीको १६ वर्षे अनुभवले यो भन्छ कि यहाँ भाषा, धर्म, सीप र ज्ञान भयो भने राम्रो हुन्छ । 

खड्काले आफ्ना भोगाई इमेल मार्फत उज्यालोलाई पठाउनु भएको हो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Swabhiman Sapkota

    Oct. 9, 2018, 1:28 a.m.

    महासय , अर्काको मुलुकमा पाल्तु बस्नु र आफु जन्मेको मुलुकको प्रधानमन्त्रि हुनुमा भिन्नता छ /

  •  0 Reply
  • Himal budha magar

    Oct. 8, 2018, 5:41 p.m.

    १६ वर्षको अनुभव ले जम्मा नेपाल प्रम को भन्दा बढी मासिक तलब थुक्क कति थियो १लाख ५० हजार त थियेन होला साउदी को बारे मा मलाइ थाहा छैन त्यस्तो कुरा गर्ने भये त मेरो त मासिक १ लाख ८० हजार थियो अहिले पनि कतारमा छु मासिक जम्मा 1लाख 35 हजार हुन्छ त्यो पनि कम हो यहाँ येस्ता नेपाली पनि छन जस्को मासिक धाइ लाख तीन लाख सम्म छन १/२ वर्ष भित्र न चाहिदो कुरा।

  •  0 Reply

तपाईको प्रतिक्रिया