साझा बस चढेर राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

 पुष २३, २०७९ शनिबार १८:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा चढेर शनिबार ललितपुरको पाटनढोका पुगी पुस्तकालय र ललितपुरमा नै रहेको पूरातात्विक तथा ऐतिहासिक महत्वको पिम्बहाल पोखरीको पनि अवलोकन गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गर्नु भएको थियो ।

पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको चुनावमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिनु भएको थियो भने स्वास्थानी ब्रत कथा, गरुड पुराणलगायतका पुस्तकहरुको ब्रिफिङ रुचिपूर्वक सुन्नु भएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिनु भयो ।

मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो र ८५ हजार भन्दाबढि पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा सञ्चालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई हुन गएको पनि मेयर महर्जनले बताउनु भयो ।

यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गर्नु भएको थियो । त्यस अवसरमा उहाँलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गर्नु भएको धुन बजाएर सुनाइएको थियो भने उहाँले त्यसलाई ध्यानपूर्वक सुन्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार विदाको दिन पारेर पुस्तकालय र पोखरीको अवलोकन गर्नु भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । 

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया