राष्ट्रिय सभाका सांसदकाे गुनासाे, ‘हाम्राे हैसियत वडा सदस्य जतिकाे पनि भएन, कार्यक्रममा पनि पछि बाेलाइन्छ’

 पुष २८, २०७९ बिहीबार १६:५४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभा सदस्यहरूले आफूहरू मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसदजस्तो भएको गुनासो गरेका छन् । 

बिहीवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम् व्यक्तिगतरूपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरूले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्यभन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए । 

राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसदजस्तो हुने गरेको गुनासो गर्नुभयो । उहाँले राज्यले दिएको मर्यादा र स्वयम् व्यक्तिले पाउने मर्यादासमेत नपाएको बताउनुभयो । विभिन्न कार्यक्रममासमेत प्रतिनिधि सभा सांसदलाई पहिला र राष्ट्रिय सभा सांसदलाई पछि बोलाउने गरेको उहाँको भनाइ छ ।

अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारीरूपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताउनुभयो ।

सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादाक्रम सच्याउनुपर्ने बताउनुभयो । उहाँले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधि सभा सांसदलाई माथि राख्न नमिल्ने बताउनुभयो ।

सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महसुस भएको सुनाउनुभयो । उहाँले राष्ट्रिय सभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने बताउनुभयो । राष्ट्रिय सभा निरीह सभाजस्तो भएको उहाँको भनाइ छ । 

सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनै पनि विषय कतै कार्यान्वयनमा नआएको बताउनुभयो । राष्ट्रिय सभाका सांसदले संसदमा बोल्ने काममात्रै भएको उहाँको भनाइ छ । 

सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सांसद बौद्धिकरूपमा माथि भएपनि राष्ट्रिय सभा सदस्य नै उनीहरूभन्दा माथि हुने बताउनुभयो । राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको उहाँको गुनासो छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया