सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

 माघ ४, २०७९ बुधबार ११:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको चुनावमा लाग्ने बताएको छ । 

बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताउनुभयो ।

उहाँले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएको र अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताउनु भयो । प्रवक्ता महतले काँग्रेस समझदारीबट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आजै सभामुखको उम्मेदवारीको बारेमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्ने संसद सचिवालयले व्यवस्था गरेको छ । त्यस विषयलाई लिएर हाम्रो छलफल भयो । हिजो सर्वदलीय बैठकमा भाग लिन जानुभएका साथीहरुले त्यहाँ भएका कुराहरु राख्नुभयो । अझै दर्ता समय केही बाँकी छ, यो बीचमा अन्य दलहरुसँग छलफल गर्ने र उम्मेदवारीका बारेमा पनि टुंगो लगाउने र अन्य दलहरुसँगको निस्कर्ष पनि आइसक्छ । त्यसका आधारमा हामीले अन्य दलको सहयोग लिएर उम्मेदवारी दर्ता गर्नेछौँ । व्यक्ति टुंगो लगाउने कुरामा आन्तरिक सहमति भइसकेको छ । अहिले कुन दलबाट सहयोग लिन सकिन्छ भनेर अन्य दलको सहयोगका लागि यो बीचको समय उपयोग गर्नेछौँ । हामी जसपा, एकीकृत समाजवादीसँग पनि कुरा गर्छौं, प्रधानमन्त्रीको पार्टीसँग पनि छलफल गर्नेछौँ । अन्तिम कुरा पनि बाँकी नै छ । अन्य सहयोगी दलहरुसँग छलफल गर्नेछौँ र त्यसका हिसाबमा हामी उम्मेदवारी दिन्छौँ । समझदारीबाट बढ्दा एक किसिमले र नहुँदा अर्को किसिमबाट अघि बढ्छौँ । भूमिका सुनेर हामी बस्दैनौँ । हामी समझदारीमा निस्कर्ष निस्कियोस् भन्ने पक्षमा छौँ, किनभने यी पदहरु संवैधानिक पद हुन्, संविधानको रक्षा गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीले केही समय माग्नुभएको छ । त्यसलाई पनि हामी पर्खिनेछौँ ।’

प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया