निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

 माघ १८, २०७९ बुधबार १३:५०:१० | सुजीत झा
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

धनुषा – कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आराेपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएकाे छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गर्नुभएकाे हाे । 

मिलापत्रअनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्नुभएकाे छ । जिल्ला अदालतमा अंश मुद्दा दिनुभएकी उहाँले दुई जनाबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको भन्नुभएकाे छ । मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेकाे राजपुतले बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘यसै हप्ता पण्डितसँग दिन देखाएर माता जानकीको मन्दिरमा विवाह गर्ने तयारी गरेका छौँ ।’

शिवराजको अहिलेको प्रस्तुति, बच्चा र आफूप्रतिकाे अदालतमा देखेको सद्भावले सँगै बस्ने निधोमा पुगेको राजपुतले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘छिट्टै नागरिकता, विवाह दर्तासहितका कागजात पनि बनाउने सहमति भएको छ ।’ अझै पनि परिवारका केही सदस्यले नमानिरहेको भए पनि शिवराजले आमा र बच्चालाई अपनाउँछु भनेपछि आफू पनि सोच्न बाध्य भएको निहारिकाको भनाइ छ । 

निहारिकाले आफू बलात्कृत भएको र कानुनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आउनुभएकाे थियाे । त्यस क्रममा उहाँ पटक–पटक पक्राउसमेत पर्नुभएकाे थियाे ।उहाँले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन बस्नुभएकाे थियाे ।

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुग्नुभएकाे थियाे । त्यसपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्याङ्कन नगरि आरोपितलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिनुभएकाे थियाे । बलात्कारसम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

राजपुतले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेपछि यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो देखाउनुभएकाे थियाे । त्यसपछि बसेको न्याय परिषद् बैठकले तत्कालीन न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेको थियो ।

पछि खुमलटारमा रहेकाे राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए शिवराजसँग मिलेको थियो । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न भदौ ८ गतेमा आदेश दिएको थियो । राजपुतले ‘कुमारी आमा’ बाट जन्मिएका बच्चाहरूको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकारले पहल गर्नुपर्ने पनि माग राख्नुभएकाे थियाे ।

त्यसअघि शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै जाँच गराउन आफू तयार भएको बताउनुभएकाे थियाे । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिनुभएकाे थियाे । पहिले निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसुरमा सजाय हुनुपर्ने बताउँदै आउनुभएकाे थियाे ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Nirusha paudel

    Feb. 1, 2023, 4:57 p.m.

    समाचार भन्दा फरक कुरा गर्न मन लाग्यो तपाइहरुको लेखाइ सुधारियको हो कि यस्मा मात्रै यस्तो हो बुझ्न सकिन । रास्ट्रपति प्रधानमन्त्री तथा वरिष्ठ पदमा रहने ब्यक्तिहरुले केही भन्दा त यस्तो भने उस्तो भने समाचार पढ्ने र छाप्ने तपाइहरु यहाँ त भन्नुभयो, गर्नुभयो भयो छ त किन हो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया