निजी क्षेत्रको लगानीमा बनेको अहिलेसम्मकै ठूलो सोलुखोला जलविद्युत् आयाेजनाकाे उद्घाटन

 फागुन २३, २०७९ मंगलबार २०:३०:३३ | सुवास दर्नाल
unn.prixa.net

काठमाण्डौ – निजी क्षेत्रको लगानीमा बनेकाे अहिलेसम्मकै ठूलो ८६ मेगावट क्षमताकाे सोलुखोला दूधकाेसी जलविद्युत् आयोजनाको उद्घाटन भएकाे छ । साहस ऊर्जा कम्पनी लिमिटेडले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङला र थुलुङ दूधकोसी गाउँपालिका ३ पञ्चनमा बनेकाे आयोजनाको मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा उद्घाटन गरेका हुन् ।

काठमाण्डौको एक हाेटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र पढेर भिडियोमार्फत आयोजनाको उद्घाटन गर्नुभयाे । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालको इतिहासमा निजी क्षेत्रको लगानीमा अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उद्घाटन हुनु गौरवको विषय भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपालीहरूले धेरै वर्षदेखि देखेको सपना आज व्यवहारमा उत्रिएको छ, वास्तवमा जलविद्युत् यस्तो प्राकृतिक स्राेत हो जसले देशलाई अनन्तकालसम्म आर्थिक आम्दानी दिइरहन्छ, यसले सिङ्गो राष्ट्रको अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन ल्याउन सक्छ ।’

आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बनेको समयमा १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको तर राजनीतिक घनाक्रमका कारण त्याे पूरा हुन नसकेकाे उहाँले बताउनुभयाे । ‘हाइड्रोइलेक्ट्रिसिटीबाट नेपाललाई एउटा नयाँ रुपान्तरणतिर लैजान सकिन्छ भन्ने सन्देश चाहिँ त्यो बेला दिएकै हो’, उहाँले भन्नुभयाे । अब नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बनिसकेकाले विद्युत् खपतलाई कसरी बढाउने भन्ने विषयमा सोच्ने बेला प्रधानमन्त्रीले बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै उहाँले नेपालले विद्युत् बिक्रीबाटै राम्रो आम्दानी गर्ने वातावरण सिर्जना भएको भन्दै अब आफूले इन्धनबाट चल्ने गाडीलाई विस्थापित गर्दै नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीले विद्युतबाट चल्ने गाडी चढ्ने याेजना बनाइरहेको सुनाउनुभयाे ।

यस आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङलामा रहेकाे लम्माने सबस्टेशनमा जोडिएको छ । विद्युत् गृहदेखि सबस्टेशनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । सोलुखोलामा पानीको मात्रा कम रहेका कारण अहिले ३० मेगावटसम्म विद्युत् उत्पादन भएको आयोजनाकाे उत्पादक प्रवर्धक साहस ऊर्जाका प्रमुख हिम पाठकले जानकारी दिनुभयाे ।

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया