इजरायलबाट आएको एउटा फोन कलले बनाएको उद्योगपति !

 फागुन २५, २०७९ बिहीबार १२:५१:५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ – इजरायलबाट अन्तर्वार्ता लागि आएको फोनमा हिब्रु भाषामा दूध र पानीलाई के भनिन्छ भन्ने बाहेक अरु केही सोधेको भए गोमा खनालको इजरायलको रोजगारी सायदै पक्का हुथ्यो । तर खनाललाई समयले साथ दियो । इजरायल रोजगारीका लागि फोनमा दिएको अन्तर्वार्तामा पास हुनुभयो र त वैदेशिक रोजगारीले काम गर्नुपर्छ भन्ने उत्साह र आत्मविश्वास दियो । कामको अनुभव र रकम पनि इजरायलले दियो । इजरायलमा बटुलेको त्यही आत्मविश्वास, जाँगर र कमाएको पैसाले आज खनाललाई स्वदेशमै उद्यमीको परिचय दियो । सहयोगी ट्रेड सप्लायर्स अनि रोयल विङ्स ब्राण्डको सेनेटरी प्याड उद्योगले गोमालाई एउटा उद्योगीको रुपमा चिनाएको छ । 

प्राथमिकतामा थिएन वैदेशिक रोजगारी

इजरायलमै सिकेको ज्ञान, सीप र अनुभवले आज आफूलाई चिनाए पनि कुनै बेला गोमाका लागि विदेश रुचि तथा प्राथमिकताको विषय थिएन । इजरायल त झनै सोच्नु पनि भएको थिएन । तर, भयो के भने तेह्रथुममा २०३१ सालमा जन्मिएकी खनाललाई हङकङमा काम गरिरहनु भएका दाइले कामका लागि हङकङमा बोलाउनु भयो । तर, उहाँको भिसा आउने दिन शाही कदम घोषणा भएका कारण उहाँले भिसा पाउनु भएन । भिसा नपाएपछि किन हाे किन हाे उहाँलाई झन पाे  विदेश जान मन लाग्याे । यसले कुनै बेला विदेश जाने रहर नभएको उहाँलाई अब भने विदेशको हुटहुटी जाग्यो । विदेश कस्तो हुन्छ एक पटक हेरौँ र अनुभव गरौँ भन्ने भयो । यसले उहाँको यात्रा इजरायल तर्फ डोरियो । उहाँले इजरायलका लागि पासपोर्ट बुझाउनु भयो । तर पनि विदेश जानकै लागि भनेर उहाँले कुनै तालिम लिनु पनि भएको थिएन र खासै प्राविधिक ज्ञान तथा सीप पनि थिएन ।

पासपोर्ट बुझाए पनि अन्तर्वार्तामा सफल हुने नहुने भन्ने केही थिएन । पासपोर्ट बुझाएको पन्ध्र दिनमा साथीले अब इजरायलबाटै राति १२ बजे फोनमा अन्तर्वार्ता हुन्छ भनेको थियो । त्यसका लागि साथीले एउटा किताब पनि दिएको थियो । नभन्दै राति १२ बजे इजरायलबाट फोन पनि आयो र उहाँलाई हिब्रु भाषामा पानी र दूधलाई के भनिन्छ भनेर सोधियो । संयोगले उहाँलाई यो दुई शब्द बाहेक अरु सोधेको भए केही आउँदैन थियो । र, यो आजको कथा पनि बन्ने थिएन । त्यसपछि पन्ध्र दिनमा उहाँको भिसा आयो । भिसासँगै उहाँको मेहनत, लगाव, लगन र भाग्य सबै जोडिएर आयो । यो २०६१ सालको कुरा हो ।

उहाँ इजरायलको तेलअभिभ पुग्दा उहाँले सोचेभन्दा केही फरक भए पनि काठमाण्डौ भन्दा खासै फरक भने लागेन उहाँलाई । फरक के थियो काठमाण्डौमा चालक दायाँ हात तिर बसेर गाडी चलाउँछन् । त्यहाँ भने ठ्याक्कै उल्टो बायाँ हात तिर बसेर गाडी चलाउँदा रहेछन् । त्यो भने उहाँलाई एकदमै फरक लाग्यो र कति दिन यसलाई अनौठो मानेर हेरिरहनु पनि भयो उहाँले । 

इजरायल गएपछि उहाँलाई सुरु सुरुमा त भाषा नबुझेर एकदमै समस्या भयो । भाषाका कारण के भनेको हो भनेर बुझ्नै उहाँलाई तीन महिना लाग्यो । भाषा नबुझेर धेरै ठाउँमा त उहाँ कामबाटै निकालिनु पनि भयो । दश, बाह्र पटक उहाँको काम गर्ने ठाउँ परिवर्तन भयो । ठाउँ परिवर्तन भए पनि काम चाहिँ केयर गिभरको नै थियो । उहाँ साढे चार लाख खर्च गरेर जानु भएको थियो । विदेशको रुचि नै नरहेको र, झन इजरायल जाने त सोच नै नभएको उहाँ आठ वर्ष इजरायल तथा दुई वर्ष साइप्रस गरेर झण्डै दश वर्ष विदेश बसेर फर्कनु भएको हो । नेपालमा पनि धेरैले विदेश जानै हुन्न भन्ने सोच राखेको देख्दा उहाँलाई त्यो सोच भने अलि सङ्कीर्ण लाग्छ । बरु कमसेकम एक वर्ष मात्र भए पनि विदेश जाने हो भने काम के हो, कसरी गर्ने, कामको सम्मान र अन्य अनुभव पनि हुने हुँदा काम गर्न तथा पढ्न गएकालाई पनि दुई/चार वर्ष काम गरेर अनुभव लिएर आउँदा राम्रो हुने उहाँको अनुभवले भन्छ ।

 

उहाँलाई के पनि लाग्छ भने यदि उहाँ इजरायल नजानु भएको भए केही काम नगरि घरमै बस्नुहुन्थ्यो होला । किनकि उहाँका धेरै साथीहरु केही नगरी घर बसेरै समय बिताइरहेका छन् । उहाँमा केही गर्नुपर्छ भन्ने सोच नै इजरायल गएर आएको हो । उहाँलाई त्यहाँ मान्छेहरु काम गरिरहेको, बेकारी नबसेको र मान्छेको भिड नदेख्दा यसरी मान्छेलाई के गरी रोजगार बनाउने होला भन्ने लाग्थ्यो । र, यसकारण पनि उहाँ फर्केपछि केही न केही गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो । त्यसमा स्यानिटरी प्याड जोडिन आइपुगेको हो ।

सेनेटरी प्याडको उद्योग खोल्नु अगाडि भने उहाँलाई क्यान्सर लागेका बिरामीलाई रिकभरीको लागि राख्ने ठाउँ खोल्ने हो कि भन्ने सामाजिक सेवाको सोच पनि आएको थियो । क्यान्सर लागेका बिरामीलाई दुख्ने, पोल्ने आदि हुने अनि उनीहरुलाई मानसिकरुपमा पनि ढाडस दिने तथा उपचार पनि गर्ने खालको संस्था खोल्नुपर्छ भन्ने सोच थियो । यसका लागि उहाँले इजरायली साथीहरुसँग पनि कुरा गरिसक्नुभएको थियो । ती साथीहरुले पनि यदि सरकारले अस्पतालसँगै जग्गा दिन्छ भने त्यहाँ संस्था खोल्ने र इजरायलीहरुलेसमेत आएर स्वयमसेवा गर्ने योजना बनेको थियो । यो प्रभाव भने उहाँलाई इजरायलको सामाजिक सेवाले दिएको हो ।

उहाँ आठ वर्ष इजरायलमा बसेर काम गर्दा काम सिक्ने कुरा त छँदैछ सँगै समाजसेवा भनेको के हो भन्ने पनि सिक्नु भयो । त्यहाँ सरकारी कर्मचारीले महिनाको एक दिन समाजसेवा गर्नुपर्ने रहेछ । मानौँ कोही डाक्टर छ भने र उसले महिनाको एक दिन समाजसेवा गर्न पाएन भने एक दिन बराबरको तलब भने सरकारलाई दिनुपर्ने नियम रहेछ । यसले गर्दा सबैलाई एक दिन भए पनि समाजसेवा गर्नुपर्छ भन्ने संस्कार र सोचको विकास हुने रहेछ उहाँको अनुभवमा । उहाँ भने यहाँको समाजसेवा देखेर छक्क पर्नुहुन्छ । किनकि हामीकहाँ समाजसेवा भन्ने बित्तिकै गैरसरकारी संस्था खोल्ने, वैदेशिक रकम ल्याउने र त्यसको दुरुपयोग गर्ने भन्ने एउटा आम आम प्रचलन बनेको छ । यसकारण यहाँ आएर क्यान्सर रिकभरी सेन्टरको कुरा गर्दा संस्थाहरुको बदनामी तथा संस्थाहरुले पनि खाने नै हो भन्ने खालको सोच देखेपछि भने उहाँले स्यानिटरी प्याडको काममा हात हाल्नु भएको हो ।

यसरी सुरु भयो स्यानिटरी प्याडको उद्योग

तेह्रथुममा जन्मेर काठमाण्डौको नयाँ बानेश्वरमा बस्दै आउनु भएकी खनालको उद्योगपति हुन्छु भन्ने कुनै सोच तथा कल्पना पनि थिएन । २०५० सालमा एसएलसी गरेपछि पढाइ पनि अगाडि बढाउँछु र केही गर्छु भनेर २०५२ सालमा काठमाण्डौ आउनु भएकी उहाँ काठमाण्डौमा सोचेजस्तो पढाइ अगाडि नबढे पनि काठमाण्डौ आएर कम्प्युटर सिक्दै हुनुहुन्थ्यो । त्यो बेला कम्प्युटर चलाउन माउसको प्रयोग हुँदैनथ्यो र डस सिस्टमबाट चलाउनु पर्थ्याे । त्यस बेला उहाँले पनि विज्ञान तथा प्रविधि मन्त्रालयबाट छ महिना तालिम लिएर कम्प्युटर शिक्षककोरुपमा कम्प्युटर भनेको यस्तो हो यसरी चलाउने भनेर सिकाउँदै हिँड्नु भएको थियो । यो २०५८/५९ साल तिरको कुरा हो ।

तर, यसै समयतिर उहाँलाई इजरायल जाने एउटा अवसर मिल्यो । अवसर नै मिले पनि उहाँलाई स्यानिटरी उद्योग नै खोल्छु र उद्योगपति हुन्छु भन्ने अझ थिएन । इजरायलमा काम गरेर फर्किएपछि के गर्ने भन्ने अन्यौल छँदै थियो । उहाँसँगै जाने अरु साथीहरु कोही कृषिमा, कोही केयर सेन्टरतिर लागे पनि उहाँ भने सेनेटरी प्याड बनाउनेतिर लाग्नु भयो । आखिर बजारमा अन्य धेरै काम भए पनि उहाँले स्यानिटरी प्याड नै रोज्नुको कारण भने प्याड आयातबाट धेरै पैसा बाहिर गइरहेको र यो महिलाहरुलाई अत्यावश्यक पर्ने र बजार खोज्न गाह्रो नपर्ने तथा घरघरै ग्राहक भएका कारण रहेछ ।

उहाँले सुरुमा उद्योग मन्त्रालयले अनुदानमा दिने स्यानिटरी प्याड बनाउने मेसिनबाट उत्पादन गरेर काम थाल्न खोज्नु भएको थियो । तर, त्यहाँ धेरै राजनीति भएपछि भने आफैँले लगानी गर्नु भएको हो । यसले नेपालमा उद्योग सुरु गर्न एकदमै महँगो तथा एकदमै चुनौती रहेको पनि उहाँको अनुभव छ । त्यसमा पनि बैँकहरुले साना तथा मझौला उद्योगलाई खासै ऋण नदिने कारणले पनि उद्योग सुरु गर्न कठिन रहेको पनि उहाँको भोगाइ छ । यसले गर्दा बैँकहरु पनि संकटमा परेको उहाँको बुझाइ छ ।

हुनत उहाँले यो व्यवसायका बारेमा अलि अगाडि नै विचार गरे पनि लकडाउन अनि अरु विभिन्न कारणले गर्दा २०७६ सालमा आएर सुरु गर्नुभएको हो । उद्योग स्थापना गर्नु करिब चार/पाँच वर्ष अगाडि उहाँले अनुसन्धान थाल्नु भएको थियो । उहाँले अनुसन्धान सुरु गर्दा स्यानिटरी प्याड बनाउने मेसिनको मूल्य भने झण्डै दुई करोड रुपैयाँ थियो । तर, पछि विस्तारै त्यसको मूल्य घटेर सानो मेसिन ४० लाख रुपैयाँ जतिमा आउने भएपछि मात्रै उहाँले उद्योग सुरु गर्नु भएको हो ।

त्यस अगाडि उहाँले यस सम्बन्धी बजार अनुसन्धान पनि धेरै गर्नुभयो । उहाँको अनुसन्धानमा सामान्यतया एघार वर्षदेखि पचपन्न वर्षको महिलाले महिनामा एक प्याकेट सेनेटरी प्याड जस्ले पनि प्रयोग गर्ने भन्ने रहेको छ । यस अर्थमा हेर्दा नेपालमा राम्रो बजार र यसैबाट रोजगारी पाउने हुँदा यस्तो व्यवसाय सुरु गर्नु भएको हो । उहाँको कम्पनीमा अहिले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु लगायतका पाँच जना महिलाले रोजगारी समेत पाइरहेका छन् ।

२०७६ सालमा शिक्षा तथा संस्कृति मन्त्रालयले नेपालका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने नेपाल सरकारले सेनेटरी प्याडको निर्देशिका ल्याएपछि अब बजार खोज्न गाह्रो पर्दैन भनेर पनि उहाँले उद्योग सुरु गर्नु भएको हो । यसो गर्दा पालिकाले पनि प्याड खरिद गरेर स्कुलतिर पठाउँछन् र बजारका लागि समस्या हुँदैन भनेर उहाँले सुरु गर्नु भएको हो ।

पहिले त उहाँको उत्पादनले नै थेगेन । पहिले उहाँलाई १० लाख प्याकेटको माग आयो । तर, कच्चा पदार्थको अभावमा उहाँले माग अनुसार आपूर्ति गर्न सक्नु भएन । मेसिन ल्याउँदा कच्चा पदार्थ पनि दिने सर्त थियो मेसिन बिक्रेताको । तर, पछि उहाँहरुले कच्चा पदार्थ नदिँदा उत्पादनमा समस्या पर्‍यो । पछि भने उहाँ आफैँ भारत गएर कच्चा पदार्थ ल्याएर उत्पादन थाल्नुभयो । थोरै ल्याउँदा महँगो पर्ने हुनाले अहिले भने अरु दुई/चार उद्योगसँग मिलेर एक कन्टेनरनै ल्याउने विचारमा हुनुहुन्छ उहाँहरु ।

उहाँको उद्योगबाट दैनिक दुई हजार ४ सय वटा प्याड उत्पादन हुन्छ । सरकारले कच्चा पदार्थको ३५ प्रतिशत भन्सार तिनुपर्ने तर तयारी ल्याउँदा भने एक रुपैयाँ पचास पैसा तिनुपर्ने कारणले अहिले बजार अलि कम भइरहेको छ । कच्चा पदार्थको भन्सार कम गर्ने हो भने सेनेटरी प्याडको मूल्य अझै कम गर्न सकिने पनि उहाँको भनाइ छ ।

उत्पादित २० हजार प्याकेट सेनेटरी प्याड अहिले पनि उहाँसँग स्टकमा छ । एक महिनामा एकै पटक धेरै माग आउने कारणले पनि केही भने स्टक गर्नुपर्ने हुन्छ । उहाँको बजार एकदमै राम्रो छ । माग पनि त्यत्तिकै छ । तर, मेसिन सानो भएका कारण उत्पादन दिन सकिँदैन भनेर उहाँहरुले आक्रामक तरिकाले बजारीकरण गरिरहनु भएको छैन । उहाँ नयाँ ठूलो मेसिन राख्ने तयारी पनि गरिरहनु भएको छ । जस्ले एक मिनेटमा दुई÷तीन सय वटा प्याड उत्पादन गर्न सक्छ ।

उहाँका अनुसार अहिले नेपालमा स्यानिटरी प्याड उत्पादन गर्ने यस्ता ४५ वटा जति उद्योग छन् । बजारमा गएका सामानको पैसा समयमा नआउने तथा अन्य विभिन्न कारणले ती उद्योगहरु राम्ररी चल्न नसकेको उहाँ बताउनुहुन्छ । उहाँको उद्योग पनि त्यस्तै नै हो । बिहानदेखि बेलुकासम्म ब्याज तिर्ने अनि अरु पैसा तिनुपर्ने ठाउँबाट फोन आउँछन् । तर, आउँदैछ, हुँदैछ भनेर अगाडि बढ्नुपर्छ भनेर आफूले टार्दै गरेको उहाँ बताउनुहुन्छ । यसका लागि आफू अविवाहित भएको र एक्लो निर्णयले चल्ने हुँदा पनि सजिलो भएको उहाँको भनाइ छ ।

नेपालले गएको आर्थिक वर्षमा मात्रै ३ अर्ब ५ करोड ३० लाख ८६ हजार रुपैयाँको स्यानिटरी प्याड र डाइपर आयात गरेको छ । त्यसलाई मात्र विस्थापन गर्ने हो भने यहाँ हजारौँ रोजगारी सिर्जना हुने हो तथा आयातित प्याड पनि ल्याउनु नपर्ने उहाँको भनाइ छ । अहिले चीनबाट खुला तयारी प्याड ल्याएर यहाँको लेवल लगाएर बेच्ने गरिएको तथा तयारी सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार शुल्क मिनाहा गरेकोले पनि बजारमा प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको उहाँको भनाइ छ ।

उहाँको उत्पादन अहिले काठमाण्डौ बाहिर झापा, ताप्लेजुङ, मोरङ तथा सुनसरीमा पुगेको छ । अहिले पाँच जना महिलालाई रोजगारी दिए पनि बजार बिस्तार गरेर कम्तीमा सय जनालाई रोजगारी दिने उहाँको लक्ष्य छ । स्यानिटरी प्याडका अलावा पेन्टी लाइनर तथा डाइपर पनि उत्पादन गर्ने नयाँ मेसिन राख्ने योजनामा पनि हुनुहुन्छ जसले थप ५० जनालाई रोजगार दिन्छ ।

प्रत्येक मान्छेसँग केही न केही सीप हुन्छ । यसकारण यहाँ जागिर खोज्ने, काम पाइएन, अरुले केही गरिदिएन भनेर भन्नु भन्दा पनि आफूसँग भएको सीपको उपयोग गरेर आत्मनिर्भर बन्नुपर्ने उहाँको अनुभव तथा सुझाव रहेको छ ।

उहाँले इजरायलमा काम गर्दा उहाँको तलब जहिले पनि दश तारिखमा आउँथ्यो । त्यसकारण पनि अहिले उहाँकोमा काम गर्नेहरुलाई यदि समयमा तलब दिन सकिएन भने उहाँलाई ग्लानी हुने गर्छ । अनि उसले के सोच्यो होला भन्ने लागिरहन्छ । कामको सम्मान, समयमा ज्याला, समयको महत्त्व आदि बुझ्नका लागि पनि एक पटक विदेश गएर काम गर्नुपर्छ भन्ने उहाँको सोच छ ।

यहाँ दुई जना भेट भयो भने के खाने, के लाउने र कहाँ घुम्न जाने भन्ने योजना बनाउने चलन छ । तर, इजरायलमा भने दुई/तीन जना भेट भएपछि के गर्ने, कसरी गर्ने भन्ने छलफल हुने कारणले पनि आफूमा केही गर्नुपर्छ भन्ने सोचको विकास भएको जस्तो लाग्छ उहाँलाई । कुनै दिन उद्योग खोल्छु, उद्योगपति बन्छु, व्यापार गर्छु भन्ने नलागेकी छोटो कपाल, खिरिलो ज्यान, हसमुख मुहार अनि ठूला आँखा भएकी खनाल पसलमा रहेका सेनेटरी प्याडका चाङ हेर्दै मक्ख हुनुहुन्छ ।

उहाँको पसल सहयोगी ट्रेड सप्लायर्स रहेको बानेश्वरको संगम चोक बाहिर सडकमा गाडी दौडिरहेको छन् । उहाँका आँखा घरी बाहिर सडकमा गुडेका गाडीमा, घरी पसलमा आएका ग्राहकमा त घरी र्‍याकभरी आफ्नै उद्योगमा उत्पादित सेनेटरी प्याडका चाङमा गइरहन्छन् । पसलमा रहेको ह्याण्डीक्राफ्ट, कपाल बान्ने लेमन्टीक, मोजा आदि पनि उहाँको आँखा परिरहन्छ अझै केही खोजे जस्तो गरी । शायद यही खोजले उहाँलाई उद्योगपति बनायो । र, अझै उद्योगको विस्तार अनि रोजगारी वृद्धिको खोजमा रहेका छन् उहाँका आँखाहरु ।

अहिले मासिक दुई देखि तीन लाख रुपैयाँ बराबरको कारोबार गरिरहनु भएकी खनाललाई यो सबै वैदेशिक रोजगारले दिएको पुँजी, अनुभव र आत्मविश्वासबाट सम्भव भएको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया