कुपोषण कम गर्न पोषणसम्बन्धी कार्यक्रम र सेवा बढाउन आग्रह

 चैत ११, २०७९ शनिबार १०:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर/ युनिसेफ

काठमाण्डाै – नेपालमा पोषणसम्बन्धी कार्यक्रम तथा सेवाहरू सञ्चालन हुँदै आए पनि त्यो अपुग रहेको पाइएको छ । सरोकारवालाले महिला, बालबालिका तथा किशोर किशोरीका लागि पोषणको व्यवस्था गर्न बजेट बढाउन सुझाव दिएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले तयार पारेको “नेपालमा बाल पोषणको अवस्था २०७९” सार्वजनिक गर्दै हिजो राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषण कम गर्नका लागि सचेतनाको खाँचो रहेको बताउनुभयो । कुपोषणमुक्त समाज, बालबालिका राष्ट्रिय गौरवको आधार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा सुनौलो हजार दिनमा नै समग्र मानिसको विकासको आधार रहने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाइ छ । पुस्तकमा सुझाव दिइएअनुसार पोषणको अवस्था बढाउनका लागि पालिकाले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव डाक्टर किरण रुपाखेतीले ‘नेपालमा बालबालिका पोषणको अवस्था’ प्रस्तुतीकरण गर्दै मधेस प्रदेशमा पाँच वर्षमुनिका बालिबालिकामा पोषणको अवस्था निकै कम देखिएको बताउनुभयो । नेपालमा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्त अल्पता भएका पाइएको छ । बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा राम्रो देखिएको छ  ।

सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमीका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दरप्रति एक हजारमा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ मा झरेको छ । यस्तै जन्मेको एक वर्षभित्र शिशुको मृत्यु (प्रति एक हजार जीवित जन्ममा) सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ मा झरेको छ ।

जन्मेको २८ दिनभित्रको शिशुको मृत्यु (प्रति एक हजार जीवित जन्ममा) सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ छ ।नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्कअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च  छ भने ख्याउटेपन र कम तौलको दर मध्यम छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया