सरकारकाे साधारण खर्च धेरै छ, यसमा निर्मम हुनैपर्छ : नवनियुक्त अर्थ मन्त्री

 चैत १७, २०७९ शुक्रबार १८:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नवनियुक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।

शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थ मन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र विभिन्न असरको कारण सङ्कटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गर्नुभयो । सरकारको साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेरमात्रै सरकारले खर्च गर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘अहिले नेपालको अर्थतन्त्र सङ्कटमा छ । अर्थतन्त्रलाई सबल बनाउने खालका निर्णय सरकारले लिन्छ । सरकारको साधारण खर्च धेरै छ । यसमा निर्मम हुनैपर्छ । हामी अनिवार्यबाहेकका खर्च कटौती गर्नेछाैँ । सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेको छैन । अर्थ मन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्ने गरी निर्णय गर्नेछु । अनावश्यकरूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ ।’

अर्थ मन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजस्वकाे दायरा बढाउने उल्लेख गर्नुभयो । उहाँले राजस्व र कर सङ्कलनका लागि सरकारले करकाप नगर्ने पनि बताउनुभयाे । उहाँले लघुवित्त र सहकारीहरू समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताउनुभयो ।

अर्थ मन्त्री महतले नागरिकमा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने दाबी पनि गर्नुभयाे ।

उहाँले पहिलो निर्णयका रूपमा नगद प्रवाह समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले सरकारको नगद प्रवाहअनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया