एकतर्फी चलिरहेको धादिङको धार्केमा गाडीको चाप

 वैशाख २१, २०८० बिहीबार ८:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - धादिङको धार्केमा आज पनि एकतर्फी गाडी चलिरहेका छन् । एकतर्फी मात्रै गाडी चलिरहेकाले यो खण्डमा गाडीको चाप छ । अहिले पनि एक/डेढ सयको सङ्ख्यामा गाडीको लाइन रहेको प्रहरीले जनाएको छ ।  

काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गासँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडक हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्  । यही कारण सडक एकतर्फी हुँदा चाप धेरै हुन्छ ।  गएको सोमवार दिउँसो ४ बजे धुनिबेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि सडक अस्तव्यस्त भएको छ ।

सडक भासिएपछि गाडीको आवागमन ठप्प भएको थियो । अस्ति मङ्गलवार बिहान १० बजेपछि सडक मर्मत गरेर एकतर्फी खुलाइए पनि हिजो दिउँसो १२ बजेतिर फेरि अर्को भ्वाङ परेपछि दुईतर्फी नै गाडी राेकिएका थिए । हिजो दिउँसो २ बजेदेखि भने एकतर्फी सडक खुलेको छ ।

दुईतर्फी सडक खुलाउन गएको सोमवारदेखि नै नेपाली सेना र सडक विभागका कर्मचारी तथा इञ्जिनियरहरु खटिएका छन् । सडक दुईतर्फी नै खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । एकतर्फी सडक खुले पनि जोखिम भने टरेको छैन । पानी परिरहेकाले जुनसुकै बेला फेरि सडक बन्द हुने सम्भावना रहेको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ भने सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।

पूर्व–पश्चिमबाट काठमाण्डौ भित्रिने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–नुवाकोट–गल्छीको बाटोलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्नेछन् । धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्छन् ।

यस्तै, पूर्व–पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुदर्शन ढुङ्गाना

    May 4, 2023, 10:19 a.m.

    अाज विहानकाे समाचारमा थाक्रेमा वाटाेमा भ्वाङ परेकाेले काठमाडाैं अावतजावतमा अवराेधकाे लामै कथा सुनियाे । हेटाैडा काठमाडाैंकाे ८०।९० किमीकाे दुरीकाे वाटाे १) कान्तीलाेकपथ,२) फर्पिङ फाखेल कुलेखानी ३) फर्पिङ सिस्नेरी कुलेखानी ४) चन्द्रागीरी चितलाङ कुलेखानी हुँदै हेटाैडा जाने चारवाटा वाटा छन तर कुनै पनि गतिला छैनन् । तर यीनीहरूकाे वयान सुनिएन । किन हाेला ? यी वाटाहरू वन्न थालेकाे पनि करिव २० वर्ष भयाे । वजेट कति खन्याए हाेलान । हिउँदमा वाटाे वनाउन भनेर अवराेध गरिन्छ वर्षामा प्रकृतिलेनै वन्द गरी दिन्छिन । यीवाटाहरूमा दुखम सुखम धेरै गाडीहरूले यात्रु अाेसार्छन । यी गाडीहरूले सरकारलाइ कति कर तिरे हाेलान याे २० वर्षमा ? अझ संघियता अाएपछि त संघिय राजधानी र प्रदेशकाे राजधानी वीच कनेक्सन कति जरूरी हाे ? याे विषय किन वाेलेन उज्यालाेले ? कुनै कारण छ की ? मेराे सानाे चार पाँग्रे छ । अाफ्नाे गाडीमा सरर हेटाैडा जाने धाेकाे त्यतिकै हुने भयाे । ५० लाख मूल्यकाे गाडी जान सक्छ तर ३० लाखकाे गाडीलाइ मुस्कील पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया