दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि भारतले खोल्यो नेपाली सीमासम्म ट्र्याक

 वैशाख २३, २०८० शनिबार ८:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।

भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरमा पर्ने राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूले जानकारी दिनुभयो ।  पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको उहाँको भनाई छ ।

उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म झण्डै चार किलोमिटर दुरीको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ । पहुँचमार्ग निर्माणका लागि गएको कात्तिकमा दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार डेढ वर्षभित्र पहुँचमार्ग निर्माणको काम गरिसक्नुपर्छ । पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका झण्डै दुई हजारभन्दा धेरै रूख काटेर ट्रयाक खोलिएको हो । ट्रयाक खोलिएसँगै अब पहुँचमार्गमा कालोपत्रेको काम अगाडि बढ्ने छ ।

यो मार्गले नेपाल–भारतलाई व्यापारसँगै यातायात सेवालाई पनि जोड्ने छ । दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी छ । दुई दशकअघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणस्थलको गएको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरीक्षण गर्नुभएको थियो । तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्नेगरी भारतसँग सम्झौता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो ।

सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको एओयु गर्ने गृहकार्य भइरहेको छ ।  आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ ।

यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो । तर स्थानीयको विरोध र भारतसँगको पहुँचमार्गमा समस्या हुने भएपछि सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ लाई प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएको छ ।

पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको आठ किलोमिटर पहुँच मार्ग निर्माणको काम पनि लगभग अन्तिम चरणमा रहेको छ ।  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिकरूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने र यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।   

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया