तनहुँमा अभियान नै चलाएर लोपोन्मुख घाटु नाचकाे संरक्षण गरिँदै

 वैशाख २३, २०८० शनिबार १६:३६:४८ | रासस
unn.prixa.net

फाइल तस्बिर

तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा रहेकाे भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच संरक्षणको अभियान थालिएको छ । गुरुङ समुदायको प्रसिद्व घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवर्द्धनका लागि अभियान थालिएको हो । 

यही वैशाख २२ गते चण्डिपूर्णिमाको दिनदेखि सुरु गरिएको घाटु नाच वैशाख २५ गतेसम्म सञ्चालन हुने कार्यक्रमका अभियान्ता रञ्जित गुरुङले जानकारी दिनुुभयो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ । 'पन्ध्र वर्षपछि घाटु नृत्यको आयोजना गरिएको हो', उहाँले भन्नुभयो ।

स्थानीयवासी एवम् लोकगायक रञ्जित गुरुङ र कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङको सक्रियतामा घाटु नृत्यको आयोजना गरिएको हो । ‘सति’ र ‘बाह्रमासे’ गरी घाटु नाच दुई प्रकारको हुन्छ । बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक–फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ । 

पछिल्लो समय घाटु नाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणका लागि अभियान थालेको अभियन्ता गुरुङले बताउनुभयो । सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको पाइन्छ । यस नृत्यमा रजस्वला नभएका दुई कन्यालाई स्थानीय भेषभूषामा सजाइ राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । 

लमजुङ, कास्कीलगायत जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन र गोरखालगायतका स्थानमा बिजोर सङ्ख्या पारेर जति पनि कन्यालाई समावेश गरी घाटु नचाइन्छ ।

घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेबारी, सिकार, माछा मार्ने, खेतीपाती, युद्वबारे व्याख्या तथा अभिनय गरिने अभियन्ता सूर्यमानसिंह गुरुङ बताउनुहुन्छ । परम्परागत संस्कृतिको संरक्षण गर्न र गुरुङको पहिचान तथा संस्कृतिको रूपमा रहेको घाटु नाचलाई पछिल्लो समय उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया