मुगुमा हिउँपहिरोमा बेपत्ता तीन जनाको खोजीमा कठिनाइ

 वैशाख २५, २०८० सोमबार ८:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुगुमा हिउँपहिरोमा परेर बेपत्ता भएका तीन जनाको खोजीमा कठिनाइ भइरहेको छ ।  भौगोलिक विकटता र खराब मौसमका कारण हिउँपहिरोमा परेर हराइरहेकाको खोजीमा कठिनाइ भएको हो ।

गएको शुक्रवार मुगुको कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्ला पातारासी–२ तल्फी गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका वीर बोहोरा हिउँपहिरोमा परेका हुन् ।

खोजी तथा उद्धार टोली अझै घटनास्थल पुग्न सकेको छैन । टोली घटनास्थल पुग्न अझै समय लाग्ने मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार आज बल्ल सुर्खेतबाट सेना र प्रहरीसहितको उद्धार टोलीलाई हेलिकप्टरमार्फत् घटनास्थलतर्फ पठाइँदै छ । तर, घटनास्थलसम्म हेलिकप्टर पुग्ने सम्भावना छैन ।

हेलिकप्टरबाट २७ किलोमिटर वर नै १४–१५ जनाको खोजी तथा उद्धारको टोली पुग्ने र त्यहाँबाट हिउँ पन्छाउँदै घटनास्थलतर्फ जाने थापाले जानकारी दिनुभयो । विकटसँगै हिउँ नै हिउँले ढाकिएकाे ठाउँ भएकाले उद्धार टोली पुग्न पनि कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो । गएको शुक्रवारकै घटना भए पनि अस्ति शनिवार बेलुकी मात्रै जिल्ला प्रशासन कार्यालयले उनीहरु बेपत्ता भएकाबारे जानकारी पाएको थियो ।

हिजो नै हेलिकप्टरमार्फत् घटनास्थलमा उद्धारको टोली पठाउने तयारी गरे पनि प्रक्रिया पूरा गर्दा ढिलो भएकाले बल्ल आज टोली जान लागेको हो ।  घटना भएको ठाउँ पुग्न मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया