नुवाकोटकाे विदुर नगरपालिकाले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निः शुल्क भरिदिने

 वैशाख २६, २०८० मंगलबार ९:३०:२८ | रासस
unn.prixa.net

नुवाकोट - विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत् राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम निःशुल्क भरिदिने भएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी  किरण थापा र विदुर नगरपालिका मेयर राजन श्रेष्ठ लगायतबीच सोमवार भएको निर्णायानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको हो ।

आउँदाे जेठ १ गतेदेखि विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिकामार्फत् सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी) को सहायता कक्षबाट निःशुल्क फाराम भर्न कर्मचारी खटाउने नगरका मेयर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि नगरपालिकाले दुई कर्मचारीसहित आवश्यक उपकरणको व्यवस्था आफैँ मिलाउने भएको छ ।

राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि अनलाइन आवेदन अनिवार्य गरिएको छ । त्यही कारण जिल्लाभरका सेवाग्राहीलाई निःशुल्क सेवा दिनका लागि विदुर नगरपालिकाले जिम्मेवारी लिन लागेको हो । प्रजिअ थापाका अनुसार अनलाइन आवेदन फाराम भरेबापत अहिले राहदानीका लागि तीन सय र राष्ट्रिय परिचयपत्रका लागि एक सय शुल्क लिन प्रशासन कार्यालयले तोकेको शुल्कमा निजी क्षेत्रले सेवा दिँदै आएका छन्।

'अनलाइन आवेदन फारम भर्ने क्रममा निजी तथा व्यावासयिक सेवा प्रदायकहरूले महँगो शुल्क पाँच हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएसँगै शुल्क निर्धारण गरेका थियौँ', प्रजिअ थापाले भन्नुभयो, 'विदुरले निःशुल्क सेवा उपलब्ध गराउन तयार भएसँगै सेवाग्राहीलाई सहजसहित आर्थिक भारको समस्यासमेत हट्ने विश्वास छ ।'

प्रशासन कार्यालयका अनुसार राहदानी बनाउन आवेदन फाराम भरेपछि पालो आउन करिब तीन हप्ता लाग्ने छ भने पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्र भने सेवाग्राहीले चाहेको समयमै भर्न पाइरहेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने सेवाग्राही दैनिक दुई सय रुपैयाँभन्दा बढी हुने प्रशासनको तथ्याङ्क छ ।

आउँदाे जेठ १ गतेदेखि प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदनको सेवा लिन पुग्नेलाई विदुरले निःशुल्क फाराम भर्नेसहित विदेश जाँदा अपनाउनुपर्ने प्रक्रिया, जान चाहेको देशको कानुनी सेवा, सीपसहितको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने जनाएको छ ।

नगरका मेयर श्रेष्ठका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बीमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पुर्‍याउँदै आएको सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Madhu kumar Belbase

    May 9, 2023, 1:19 p.m.

    राम्रो काम ,देशका अन्य पालिकाहरुले पनि विदुर नगरपालिकाबाट सिक्नुपर्छ । यसरी नै जनतालाई सेवा प्रदान गरिदिए कत्ती सजिलो हुने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया