आगलागी र वन डढेलोका घटनाबाट यो महिना १६ जनाले ज्यान गुमाए, ६५ जना घाइते

 वैशाख ३१, २०८० आइतबार ७:५४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आगलागी तथा वन डढेलोका घटनाबाट यो महिनामा १६ जनाले ज्यान गुमाएका छन् । ६५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको १ गतेदेखि हिजोसम्म देशभर ५ सय २७ वटा आगलागी र ९४ वटा वन डढेलोका घटना भएका छन् ।

आगलागीमा ११ जना र डढेलोमा परेर ५ जना गरी १६ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना पनि बढ्न थालेका छन् । एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ वटा घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको छ । आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीविना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम उच्च हुन्छ ।

आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञको आग्रह छ । आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायविना त्यस्तो ठाउँमा जान नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा बताउनुहुन्छ । दमकल तथा अन्य साधन स्रोत उपलब्ध भए आगो निभाउन सहज हुन्छ । तर दमकल नपुग्ने र आगो निभाउन चाहिने साधन स्रोत नभएका ठाउँ वा वन जङ्गलमा लागेको डढेलो निभाउन हम्मेहम्मे पर्छ ।

काठमाण्डौ महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख, नगर प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार डढेलो लागिरहेका बेला निभाउन जानेले हावाको बहावलाई मुख्य ध्यान दिन सके मात्रै पनि जोखिम कम हुन्छ । उहाँका अनुसार हावाको बहाव जुन दिशातर्फ छ त्यसैतर्फबाट आगो निभाउन जुट्नुपर्छ । हावाको बहाव विपरीत जाने, जङ्गलको तल डढेलो लागेको छ भने माथिबाट निभाउने गल्ती गर्नु हुँदैन ।

आगो वा डढेलो फैलिँदा भाग्ने ठाउँको सुनिश्चित गर्न पनि काठमाण्डौ महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख पण्डितको आग्रह छ । दिउँसो घाम चर्केका बेला डढेलो तथा आगो थप फैलने हुँदा सबैभन्दा पहिला आफू सुरक्षित हुनेतर्फ नै ध्यान दिन उहाँको सुझाव छ ।

घरमा आगलागी भएको छ भने त्यसबेला निभाउन खटिनेले आगोको जोखिमसँगै अन्य वस्तु, घरको छत, गारो, पर्खाल खसेर हुनसक्ने क्षतितर्फ पनि ध्यान दिनुपर्नेमा विज्ञको जोड छ । घर तथा भवन साँघुरो छ भने आगलागीका बेला अक्सिजन नै नपाएर पनि उद्धारकर्ताको ज्यान जोखिम हुन सक्छ । डढेलो तथा आगलागी नियन्त्रणमा खटिनेले सकेसम्म आगो र तातोले तत्काल नटिप्ने खालका कपडा, जुत्ताचप्पल लगाउन विज्ञको सुझाव छ । उद्धारकर्ताले आफूसँग आगो निभाउने अरु सामग्री छन् की छैनन् भनेर पनि ध्यान दिनुपर्छ ।

धेरैजसो अवस्थामा आगो पानीले नै निभाउन सकिन्छ तर कतिपय अवस्थामा पानीले मात्रै पनि आगो निभ्दैन त्यसबेला अरु उपकरणको तत्काल खोजी र व्यवस्थापन गर्नुपर्ने हुन सक्छ। गाउँघरमा उपलब्ध सामग्री तथा फायर पम्प प्रयोग गर्न सकिन्छ ।

जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिन्छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठूटा जथाभाबी नफाल्ने, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि विज्ञको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया