बाग्लुङको गणेश माविमा विद्यार्थीको सङ्ख्या बढ्दै, नजिकका ३ वटा निजी विद्यालय बन्द

 वैशाख ३१, २०८० आइतबार १४:३०:९ | रासस
unn.prixa.net

बाग्लुङ – बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको गणेश माध्यमिक विद्यालयमा यही शैक्षिक सत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बाग्लुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ । 

‘गणेश माध्यमिक विद्यालयमा अहिले सात सय ६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन वटा निजी विद्यालय बन्द भएको इतिहास छ’, प्रधानाध्यापक एकनाथ रिजालले भन्नुभयो, ‘अहिले कुश्मा बजारबाट दैनिक यान्त्रिक पुल तरेर यस विद्यालयमा पढ्न आउनुहुन्छ, भर्ना हुन प्रवेश परीक्षा अनिवार्य गरिएको छ, विद्यालय सुधारका लागि स्थानीयको समेत योगदान छ ।’

विद्यालय गण्डकी प्रदेशमै अब्बल भएको विद्यालयको दाबी छ । गणेश माध्यमिक विद्यालय आर्थिक वर्ष २०७६/७७ मा सरकारको नमुना विद्यालयका रूपमा छनोट भएको थियो । विद्यालयमा आर्थिक वर्ष २०७८/७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको प्रअ रिजाल बताउनुहुन्छ । अभिभावकको अग्रसरताले नै विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा उल्लेख्य सुधार भएको उहाँको भनाइ छ । झन्डै १५ वर्षदेखि अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

पढाइको माध्यम अङ्ग्रेजी भएकाले निजीका विद्यार्थी आकर्षित भएका हुन्’, प्रअ रिजालले भन्नुभयो । भौतिक पूर्वाधारका साथै दरबन्दी अभाव भएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा विद्यालयले ३० कोठे नयाँ भवन निर्माण थालेको छ । यो विद्यालय विसं २०३७ मा स्थापना भएको हो ।

विद्यार्थीलाई आवासको समेत व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो । विद्यालयले धनधान्याञ्चल महायज्ञ सञ्चालन गरी दुई करोड रुपैयाँ सङ्कलन गरेको रकमको ब्याजबाट शिक्षक राखेको छ । विद्यालयमा बाग्लुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटवलसँगै सुदूरपश्चिमको अछामसम्मका विद्यार्थी अध्ययनरत छन् । १८ दरबन्दीकासहित विद्यालयमा ५० जना कार्यरत रहेका छन् ।  

‘शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी यसै विद्यालयमा पढ्छन्’, शर्माले भन्नुभयो । विद्यालयमा २०६५ सालदेखि अङ्ग्रेजी माध्यम तथा कक्षा ४ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन गरिँदै आएको छ । गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया