भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - पछिल्लो एक महिनामा चट्याङ लागेर ५ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि हिजोसम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । यसमा परेर पाँच जनाको ज्यान गएको हो भने ४३ जना घाइते भएका छन्।
चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । गएराति चट्याङ लागेर दैलेखमा एकै घरका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । उनीहरुको उपचार भइरहेको छ । हिजो पहाडी क्षेत्रका धेरैजसो ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको थियो।
आज पनि पहाडी जिल्लामा दिउँसो पछि हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी आज बाग्मती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ। चट्याङ नपरे पनि तराईका जिल्लामा हावाहुरीको जोखिम भने रहेको उहाँले बताउनुभयो । मौसमविद्का अनुसार प्रि-मनसुनमा चट्याङ धेरै पर्छ।
प्रि–मनसुनमा दिउँसो पछि मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ।
चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । यस्तै, विज्ञका अनुसार चट्याङ पर्दा टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणलाई बन्द गरेर तार निकाल्नु पर्छ।
यस्तै, यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । उनीहरुका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चट्याङ पर्दा चलाउनु हुँदैन।
यसैबीच, चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।
घाइतेको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, त्यहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।