गण्डकीकाे आर्थिक वृद्धिदर सबैभन्दा बढी र बाग्मतीकाे सबैभन्दा कम हुने अनुमान

 जेठ २, २०८० मंगलबार १७:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।

मङ्गलवार आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै कार्यालयले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव ३ प्रतिशत हुने अनुमान गरेको हो । त्यस्तै बाग्मती प्रदेशको वृद्धिदर सबैभन्दा कम १ दशमलव ४४ रहने अनुमान गरिएको छ । संशोधित अनुमानअनुसार गएकाे आर्थिक वर्षमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६ दशमलव ३५ प्रतिशत देखिएको थियाे भने सबैभन्दा कम मधेस प्रदेशमा ४ दशमलव ६ प्रतिशत रहेकाे थियाे ।

पत्रकार सम्मेलनमा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले यस आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा झन्डै ५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा बढी ३६ दशमलव ८ प्रतिशत योगदानसहित बाग्मतीकाे कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा झन्डै १९ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान रहेको बताउनुभयो । उहाँले सबैभन्दा कम ४ दशमलव १ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा झन्डै दुई खर्ब एक अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान रहेको बताउनुभयो ।

बाग्मतीपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पुर्‍याउने प्रदेशहरूमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम रहेका निर्देशक भण्डारीले बताउनुभयाे ।

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापहरूलाई हेर्दा गएकाे आर्थिक वर्षमा बाग्मतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान बढी रहेको थियो भने बाग्मतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको तथ्याङ्कले देखाएको थियो । बढ्दो सहरीकरण, बढी जनसङ्ख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण बाग्मतीको यस्तो तथ्याङ्क आएको कार्यालयले जनाएकाे छ ।

राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोशी, मधेस र लुम्बिनीमा दोस्रो हिस्सामै कायम रहेको छ भने बाग्मतीमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ । यसैगरी गण्डकी, कर्णाली, सुदूरपश्चिममा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको छ भने मधेसबाहेक सबै प्रदेशकाे कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा कम देखिएको कार्यालयका निर्देशक भण्डारीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा कोशीको आर्थिक वृद्धिदर २ दशमल शून्य, मधेसको १ दशमलव ६९, लुम्बिनीको २ दशमलव ०६, कर्णालीको १ दशमलव ९१ प्रतिशत र सुदूरपश्चिमको १ दशमलव ७८ प्रतिशत वृद्धि हुने तथ्याङ्क कार्यालयको प्रक्षेपण रहेको छ । गएकाे आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा सङ्कुचन आउने देखिएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया