पर्वतको बगरफाँट र म्याग्दीकाे बेनी जाेड्ने बेलिब्रिज चार महिनामै बन्यो

 जेठ ८, २०८० सोमबार १६:१२:२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पर्वत - पर्वतको जलजला गाउँपालिका र म्याग्दीको बेनीबजार जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै बनेकाे छ।  जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्ने पुल चार महिनामै निर्माण भएकाे हाे । 

कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती गएकाे दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । गएकाे फागुन अन्तिम हप्तादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो । 

दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी पुल निर्माण कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले जानकारी दिनुभयो । 

सडक सञ्जालबाट विच्छेद हुँदा बगरफाँटका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरर झोलुङ्गे पुलबाट ल्याउने गर्थे । बेलिबिज्र निर्माण भएसँगै बगरफाँट सिधा सडक सञ्जालमा जाेडिएकाे बगरफाँटका विज्ञान शर्माले बताउनुभयो । 

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलन गर्दै आएका थिए । कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म चुनावमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

पूर्वमन्त्री पदम गिरीको पहलमा सडक विभागसँगको समन्वयमा तत्कालका लागि बेलिब्रिज निर्माण गर्ने र त्यही ठाउँमा पक्की मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको थियो । 

बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजलाको वडा नं १ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माँझफाँटमा यातायात सेवा सञ्चालन हुने भएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया