काठमाण्डाैमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३ सय १२ मुद्दा दर्ता

 जेठ ९, २०८० मंगलबार १२:५५:४४ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३ सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डाैका अनुसार चालु आर्थिक वर्षमा काठमाण्डाैमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आर्थिक वर्षमा काठमाण्डाैमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिनुभयो ।

'पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ', उहाँले भन्नुभयो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताउनुभयो । पछिल्लो समय काठमाण्डाैमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटना बढेको उहाँले बताउनुभयो ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आर्थिक वर्षमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गएको आर्थिक वर्षमा बैंकिङ  कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा ४ हजार ३ सय ४३ मुद्दा दर्ता भएका थिए।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया