बार्सिलोना, लिभरपूल र बोरुशिया डर्टमण्डले जित निकाल्दा टोटनह्याम र पीएसजी बराबरीमा राेकिए

 कात्तिक ८, २०७५ बिहीबार ७:८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, लिभरपूल र बोरुशिया डर्टमण्डले जित निकाल्दा टोटनह्याम र पीएसजीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह बी अन्तर्गत बुधबार राति भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोनाले इटलीको इन्टर मिलानलाई पराजित गरी च्याम्पियन्स लिगमा विजय यात्रा कायमै राखेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा सुपरस्टार लियोनल मेस्सीबिना उत्रिएको बार्सिलोनाका लागि राफिन्हा र जोर्दी अल्बाले गोल गरेका थिए । खेलको ३२औं मिनेटमा लुइस स्वारेजको पास सदुपयोग गरी राफिन्हाले गोल गरेका थिए भने ८३औं मिनेटमा गोल गरेका अल्बाले इभान राकिटिचको पास सदुपयोग गरेका थिए ।

बार्सिलोनाले समूहमा अहिलेसम्म शतप्रतिशत जित हासिल गरेको छ । यसै समूहको अर्को खेलमा टोटनह्यामले भने डच क्लव पीएसभीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा पीएसभीका लागि लोजानो र लुक डि जोङले गोल गरेका थिए भने टोटनह्यामका लागि लुकास मोउरा र ह्यारी केनले गोल गरेका थिए ।

समूह सी अन्तर्गत फ्रान्सको पीएसजी इटलीको नापोलीसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा पीएसजीले नापोलीबिरुद्ध कठिन संघर्ष गर्नुपरेको थियो । खेलको अन्तिम मिनेटमा एञ्जेल डि मारियाले गोल गरी पीएसजीलाई एक अंक दिलाएका थिए । यसअघि २९औं मिनेटमा लोरेन्जो इनसिग्नेको गोलमार्फत नापोलीले अग्रता बनाएको थियो । ६१औं मिनेटमा मारियो रुईले आत्मघाती गोल गर्दा खेल बराबरी भयो ।

७७औं मिनेटमा पुनः पाहुना टोली नापोलीका लागि ड्राइज मार्टिन्सले गोल गरेर अग्रता दिलाएका थिए । तर, अन्तिम एक मिनेट संहालिन नसक्दा नापोलीले अंक बाँड्न बाध्य भयो । यता समूह सीबाटै लिभरपूलले भने सर्वियाको कर्भेना भेज्दालाई ४–० गोलले हराउँदा उसका सुपरस्टार मोहम्मद सलाहले २ गोल गरे । रोवर्टो फिर्मिन्हो र साडियो मानेले १–१ गोल गरे ।

समूह ए अन्तर्गतको खेलमा जर्मनीको बोरुशिया डर्टमण्डले भने स्पेनको एट्लेटिको मड्रिडलाई ४–० गोलले नै पराजित गरेको छ । घरेलु मैदानमा ६६ हजारभन्दा बढी दर्शकमाफ बोरुशियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । उसका लागि रफायल गुरेरोले २ गोल गर्दा एक्सेल विसल र जाडोन सान्चोले एक एक गोल गरोक थिए ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया