एकाउन्न दिनमा 'जारी’

 जेठ २०, २०८० शनिबार १५:६:१३ | रासस
unn.prixa.net

काठमाण्डाै - लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएकाे चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानकाे कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका हुन्। 

चलचित्रले आज काठमाण्डौ उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको एकाउन्न दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए । 

'वर्षकै पहिलो एकाउन्न दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाउनुभयो', उनले भने । 

चलचित्रले शुक्रवारसम्म १४ करोड २१ लाख २३ हजार छ सय ७८ रुपैयाँको विशुद्ध (कर कट्टा गरिएको नेट कलेक्सन) व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । ‘कब्बडी’का शृङ्खलामार्फत् लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेकाे बताए । 

'महिला आँटिला र साहसिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानविना बस्दैनन्', निर्देशक सुब्बाले भने । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत गरे । 

'लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ', निर्देशक सुब्बाले भने । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतकाे अभिनय रहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया