‘खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउनुपर्छ’

 असार १५, २०८० शुक्रबार १९:१९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउनुपर्ने सरोकारवालाले बताएका छन् । 

युनिसेफ तथा यूके एडको सहयोगमा लुमन्ती आवासका लागि सहयोग समूहको तर्फबाट ललितपुरमा शुक्रवार आयोजित कार्यक्रममा सराेकारवालाले कानुन बनाउने सरकारकाे अग्रसरता राम्राे भए पनि कानुन पर्याप्त नहुनु दुःखद भएकाे बताएका हुन् । कार्यक्रममा बाग्मती, कोशी र लुम्बिनी प्रदेशका 'वाश महिला सञ्जाल' का संयोजक तथा सदस्यहरू, विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्था, यूएन एजेन्सीहरू, लैङ्गिक समता तथा सामाजिक समावेशीकरण कार्य समूहका सदस्यहरू सहभागी थिए ।

खानेपानी र सरसफाइ तथा स्वच्छतासम्बन्धी नीतिमा लैङ्गिक समता र सामाजिक समावेशीकरणको अवस्थाको अध्ययन प्रतिवेदनमाथिको छलफलका सहभागीले सङ्घीय सरकार र प्रदेश सरकारहरूले बनाउन लागेका नीति र प्रस्तावित विधेयकमा परिमार्जन गर्न आवश्यक रहेको बताए ।

सरकारी प्रस्तावित विधेयकको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उपप्राध्यापक रविन बास्तोलाले नेपालमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी नीति नियममा लैङ्गिक समता र सामाजिक समावेशीकरणका प्रावधान अपर्याप्त रहेको बताउनुभयो । सङ्घीय सरकारले बनाउन लागेको नियमावली र प्रदेश सरकारले तयार पारिरहेको विधेयकमा लैङ्गिक समता र सामाजिक समावेशीकरण (जेसी) प्रति प्रतिबद्धता जनाए पनि प्रावधानहरू अपर्याप्त रहेकाले संशोधन गर्न सुझाव दिइएको उहाँले बताउनुभयो । विधेयकमा खानेपानी र सरसफाइको कुरा गरिए पनि स्वच्छतालाई समावेश नगरिएको र केही विषयमा अस्पष्ट रहेको पाइएकाले त्यसमा सुधारको खाँचो रहेको उहाँले बताउनुभयो ।

अधिवक्ता माधवराज घिमिरेले नयाँ कानुनहरूमा धेरै कुरा छुटेका र तीन तहका सरकारबीच समन्वयको पाटोलाई बेवास्ता गरेको पाइएको बताउनुभयो ।

लुमन्तीका प्रोग्राम म्यानेजर उद्धव भट्टराईले लैङ्गिक समता र सामाजिक समावेशीकरणको दृष्टिकोणबाट उपयुक्त सिफारिसहरू गर्ने उद्देश्यले राष्ट्रिय र प्रादेशिक नीति तथा कानुनको समीक्षा गरिएको बताउनुभयो । समीक्षाबाट कोशी, बाग्मती र लुम्बिनी प्रदेशका खानेपानी, सरसफाइ तथा स्वच्छता विधेयकलाई अन्तिम रूप दिन प्राविधिक सहयोग पुग्ने उहाँकाे भनाइ छ ।

कार्यक्रमका सहभागीहरूले सरकारी निकायमा जेसी फोकल पर्सन नभएको, भएका निकायका जेसी फोकल पर्सन र खानेपानी, सरसफाइ र स्वच्छता फोकल पर्सन एवम् वाश इकाइसँग समन्वय नभएको, वास युनिटको क्षमता अभिवृद्धि गर्नुपर्ने, महिलालाई सङ्ख्यात्मकरूपमा सहभागिता गराइएको र गुणात्मक विकासमा जोड दिन नसकिएको जस्ता विषय औँल्याएका थिए ।

कार्यक्रममा युनिसेफका वाश प्रमुख मोहम्मद इरफान सइद अलराइले युनिसेफ सबै प्रकारका विभेदविरुद्ध क्रियाशील रहेको र यसका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

बाग्मती प्रदेश सरकारका सिनियर डिभिजनल इन्जिनियर लोकबहादुर चापागाईँले खुला दिसामुक्त घोषणा कार्यक्रमपछि खानेपानी, सरसफाइ र स्वच्छताको अभियान सुस्ताएको जस्तो महसुस भएको भन्दै यो विषयमा सबै जना सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले धेरैजसो उपभोक्ता समितिमा महिलालाई कोरम पुर्‍याउनका लागि मात्र राख्ने प्रचलन रहेको भन्दै वाश महिला सञ्जालले अब नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

महिला वाश सञ्जाल लुम्बिनी प्रदेश संयोजक भगवती अधिकारी, बाग्मती प्रदेश संयोजक टीका उप्रेती र कोशी प्रदेश संयोजक गीता अधिकारीले महिला वाश सञ्जालको गठनपछि खानेपानी, सरसफाइ र स्वच्छताको बुझाइ बढेको र अहिले भोगेका समस्याहरूलाई सशक्तरूपमा पैरवी गर्न हौसला मिलेको बताउनुभयो ।

कार्यक्रममा लुमन्तीका प्रोग्राम म्यानेजर लुमन्ती जोशीले कार्यक्रममा उठेका विषय र आएका महत्त्वपूर्ण सुझावहरू कार्यान्वयनका लागि थप पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया