‘घरको काम गर्छु कहिलेकाहीँ उँट पनि चराउँछु भन्थ्यो, ७ वर्ष बित्यो मेरो छोराको सम्पर्कै हरायो’

 असार १७, २०८० आइतबार १६:४५:३१ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

शिवमाेहन चाैहान

कृष्णप्रसाद चौहान, कपिलवस्तु ।

हेर्नुस् न, ७ वर्ष भइहाल्यो, छोराले फोन नगरेको ! कस्तो अवस्थामा होला अहिले । मन वेचैन भइरहन्छ । शिवमोहन चौहान हो छोराको नाम । ११ वर्ष पहिले सन् २०१२ मा भारतको बाटो भएर कुवेत गएको थियो ।

नियमित पैसा पठाइरहन्थ्यो । त्यही बेला आफू कुवेत जाँदाको ६० हजार रुपैयाँ ऋण पनि तिर्‍याे । कुवेतमा अढाइ वर्ष बसेर घर फर्कियो । घर आउँदा भने उ भारतबाट नभएर काठमाण्डौको त्रिभुवन विमानस्थलबाटै आएको थियो । साथमा फर्किने टिकट पनि थियो । बिदामा आएको हो भन्थ्यो । चार महिना घर बसेर फेरि कुवेत गयो । त्यतिबेला सबै राम्रै छ भन्थ्यो ।

नेपालबाट फर्केर कुवेत गएपछि पनि शिवमोहनले घरमा फोन गरिरहन्थ्यो । तर केही महिनामै फोन आउन बन्द भयो । 

हेर्दाहेर्दै छोराको फोन नआएको सात वर्ष बितिसक्यो । केही आपत विपतमा पो परेको छ कि ? वा गर्न नहुने काम गरेर जेलमा पो परेको छ कि ? मनमा अनेक कुरा खेलिरहन्छन् । तर अर्को मनले भन्छ, उ गलत काम गर्ने केटा हुँदै होइन । कसरी जेल पर्ला ?

म अहिले गाउँकै स्थानीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छु । मेरा ११ जना छोराछोरीमध्ये जेठो छोरो हो शिवमोहन । दिदीबहिनीको बिहे गर्छु र पक्की घर लगाउँछु भन्दै धन कमाउन परदेश लागेको थियो । कुवेतमा घरेलु काममा छु भन्थ्यो । कहिले घरको काम त कहिले उट चराउने काम गर्नुपथ्र्‍याे रे ।

रोजगारदाताले शिवमोहनलाई कुवेतबाट कहिलेकाहीँ साउदीमा पनि लैजान्थे रे, उसैले भनेकाे । कहिलेकाहीँ उँट पनि चराउँछु भन्थ्यो । साउदीको आइडी अकामा पनि बनाइदिएको थियो । घरको जिम्मेवारी बोकेर त्यसरी कमाउन गएको छोरा घरपरिवारको माया नै मारेर सम्पर्कमै नआएको होला जस्तो त मलाई लाग्दैन ।

मोबाइल पनि नदिएर रोजगारदाताले कतै टाढा उँट हेर्न पो पठाएको छ कि जस्तो लाग्छ । त्यसैले एक दिन छोराको फोन आउँछ भन्ने विश्वास छ मलाई । म त फोन पनि शिरानीमुनै नै राखेर सुत्छु । एक सेकेण्ड पनि फोन स्वीच अफ गरेर राख्दैन । नत्र स्वीच अफ भएकै बेला छोराको फोन आयो भने के गर्ने ?

कार्यलय सहयोगीकै जागिरको भरमा जसोतसो दुई छोरी र दुई छोराको बिहे त गरिदिएँ । अरु दुई छोरी बिहे गर्ने उमेरकी भइसके । फुसको छानो हटाएर पक्की छानो छाउन सकेको छैन । बाउको आश त हो नि, कुनै दिन छोराको फोन आइहाल्छ कि ।

उसैले घरको छानो बदल्ने कुरा पो गरिहाल्छ कि भन्ने मनमा लागिरहन्छ । मोबाइलको घण्टी बज्नेबित्तिकै कतै छोराकै जानकारी पो आयो कि या उसैले पो फोन गर्‍याे कि भनेर मन झसंग हुन्छ । आँखाबाट आँसु बग्न थालिहाल्छ । छोराको पीरले बुढिया (शिवमोहनकी आमा) पनि पागल जस्तै भएकी थिइन् । अहिले अलि सञ्चो छ । छोरा शिवमोहनको नाम लिएर बरबराउने गर्थिन् । के बोलेको होसै नहुने, यताउता डुलिरहने गर्थिन् । उपचारको लागि भारतको गोरखपुर पनि पुर्यायौँ हामीले । अहिले सञ्चो भएको छ । 

शिवमोहन अहिले ३६ वर्षका भइसक्यो । उसको बारे गाउँलेले विभिन्न अड्कलबाजी गर्छन् । गाउँघरमा कुनै साधु आयो भने फलानाको छोरा जस्तै लाग्छ भन्छन् । कसैकसैलाई त तिमै्र छोरा हो भनेर पनि भन्छन् । कतिपटक त मेरो श्रीमती कतै साँच्चै आफ्नै छोरा पो हो कि भनेर दगुर्दै जोगीको अनुहार हेर्न गएकी छिन् । तर मलाई भने, मेरो छोरा त्यसरी आयो होला भनेर विश्वास लाग्दैन ।

विदेशबाट आउँदा त काठमाण्डौ भएर आउँछन् नि । त्यो रिपोर्ट सरकारसँग हुन्छ । हामीले छोरो हराएको बारेमा सरकारलाई निवेदन दिएका छौँ । त्यसैले सरकारले नै हामीलाई जानकारी गराउँछ होला नि । छोरा बाँचेको भए राम्रै होला तर यसरी जोगी बनेर आयो होला भन्ने पत्यारै लाग्दैन ।

लामो समयसम्म त उसको विदेश गएको कुनै कागजात हामीसँग नहुँदा खोजी गर्न पनि समस्या भएको थियो । तर काँकाँबाट शिवमोहनको पासपोर्टको फोटोकपी भेटियो ।

अहिले त्यही पासपोर्टको आधारमा हामीले निवेदन दिएका छौँ । बाँचेको छ भने छोरासँग भेट भइहाल्छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया