चिडियाखानाका जनावरको आकृति काष्ठकलामा

 असार १९, २०८० मंगलबार ७:१३:२६ | रासस
unn.prixa.net

काठमाण्डौ - ललितपुरकाे जावलाखेलमा रहेकाे सदर चिडियाखानामा रहेका जनावरको आकृति काष्ठकलामा उतारिएको छ ।    

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले कछुवा, हात्तीको टाउको, गोही, लाटोकोसेरो र चिलको चित्र काठमा उतारिएको जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार चिडियाखानाभित्र नै रहेका काठबाट जनावरहरूको चित्र बनाइएको हो । कलाकारले बनाइसकेपछि याे काठका आकृतिलाई नागरिकका लागि प्रदर्शनमा राख्ने तयारी रहेको कोइरालाले बताउनुभयो ।  

काठबाट निर्माण गरिएको हुनाले यसका लागि घामपानीबाट बचाउन सकिने ठाउँ आवश्यक पर्ने हुँदा त्यहीअनुसार प्रदर्शनका लागि राखिने छ । काठबाट निर्माण गरिएका यी सामग्रीका कारण अवलोकनमा आउने विद्यार्थीका लागि पनि सहयोग पुग्ने विश्वास चिडियाखानाले लिएको छ ।  

कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलरिहेको चिडियाखानामा पछिल्लो समय दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । उहाँका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक १४ देखि १६ करोड रुपैयाँ आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष २० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । अहिले चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । 

त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । 

अवलोकन गर्न विदेशीका लागिसात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । अवलोकनका लागि उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गर्नुभएको हो । विसं २०११ सालदेखि नागरिकका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ सालदेखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया