काठमाण्डौ उपत्यकामा साझा यातायातको सेवा विस्तार, आजदेखि रत्नपार्क–लेले रुटमा चल्ने

 असार २१, २०८० बिहीबार ८:१४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - आजदेखि काठमाण्डौको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस चल्ने भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै आजदेखि रत्नपार्क – लेले रुटमा गाडी चलाउन थालेको हो ।

अहिले डिजेलबाट चल्ने चार वटा गाडीलाई यो रुटमा हालेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यो रुटमा बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म साझाका गाडी चल्ने छन् ।

साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ–थेचो–सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् । ललितपुरको गोदावरीमा चार्जिङ स्टेशन बनेपछि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

साझाले खरिद गरेको ४० वटा विद्युतीय बसमध्ये अहिलेसम्म १८ वटा सञ्चालनमा छन् । बाँकी बस सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा भएको  विद्युतीय बस खरिद गर्न २०७८ साल चैत १३ गते साझाले ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

यसैबीच, साझाले काठमाण्डौ उपत्यकामा सुरु गरेको सम्पदा घुम्ती बस सेवामा यात्रु आकर्षित हुन सकेका छैनन् । पर्यटन क्षेत्रलाई लक्षित गरी गएको जेठ ९ गतेदेखि साझाले सम्पदा घुम्ती बस सेवा सञ्चालनमा ल्याएको हो । तर, सम्पदा घुम्ती बसलाई यात्रु पाउन मुस्किल छ ।

यो बसमार्फत् स्वदेशी तथा विदेशी पर्यटकले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूको भ्रमण गर्न पाउँछन् । त्यसका  लागि दिनको पाँच सय रुपैयाँका दरले बसको टिकट तोकिएको छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • जितेन्द्र जोन्छे

    July 6, 2023, 12:39 p.m.

    केही काम छैन यो साझा बसको। साँझ ६:३० बजे नै सबै गाडी ग्यारेज मा थन्काउने गाडी के काम? कमसे कम साँझ १०: बजे सम्म त सेवा दिनु पर्यो। जुन बेला आपत पर्छ साझा गायब। मैले पनी खुब आस गरेको थिए साझा बाट। न समय को ठेकान छ, न स्टप को। जहाँ पायो त्यही टेम्पो र माइक्रो जस्तै ठ्याच रोक्यो। के साझाको कुनै स्तर छैन?

  •  0 Reply
  • Sarita lohani

    July 6, 2023, 9:49 a.m.

    Atti ramro, aba dillibazar route pani rakhnu parcha hai

  •  0 Reply

तपाईको प्रतिक्रिया