च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - विषालु च्याउ छुट्याउन नसक्दा च्याउ खाएर बिरामी पर्ने र ज्यानै जाने जोखिम यस वर्ष पनि दोहोरिएको छ । हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् ।
दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा.सुशीला कटुवालले जानकारी दिनुभएको छ । त्यस्तै, विषालु च्याउ खाएर बिरामी परेकी ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको उपचारका क्रममा असार १५ गते ज्यान गएको थियो ।
बर्खामा खेतबारी र जङ्गलमा जताततै च्याउ उम्रिने गरेको तर खान योग्य कुन च्याउ हो भनेर सहजै छुट्याउन गाह्रो हुने भएकाले जङ्गली च्याउ नखान विज्ञहरुको आग्रह छ । यो बेला जताततै उम्रिने जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पकाउँदा पनि च्याउमा हुने विष कम नहुने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको अनुरोध छ ।
नेपालमा यकिन विवरण नभए पनि वर्षमा झण्डै ३० जनाले विषालु च्याउ खाएका कारण ज्यान गुमाउने गरेको तथ्याङ्क छ । केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्याउने विज्ञले बताएका छन् ।
सबै जङ्गली च्याउ विषालु नहुने तर पहिचान गर्न गाह्रो हुने भएकाले नखान च्याउ वैज्ञानिक प्रेमबहादुर मगरको सुझाव छ । विषालु च्याउले वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने हुन्छ । हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाइ छ ।
डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुने विज्ञको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।