धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान

 असार २५, २०८० सोमबार ११:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा - धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान शुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा ताङ्खुवा जलाधार क्षेत्रमा वृक्षारोपण अभियान थालिएको हो ।

मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षारोपण अभियान थालिएको धनकुटा नगरपालिकाका मेयर एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिन्तन तामाङले बताउनु भयाे । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण थालेका छौँ, यसलाई अभियानकै रुपमा अघि बढाउछौँ,’ मेयर तामाङले भन्नुभयाे, ‘अब हरेक हप्ता वृक्षारोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौँ।’
   
अभियानको पहिलो दिन धनकुटा नगरपालिका–१ मा रहेकाे विद्युत् प्राधिकरणको जग्गा, आइतबारे रानी वन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षारोपण गरिएको छ । याे क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताउनु भयाे । वृक्षारोपणका लागि धनकुटाका विभिन्न ठाउँबाट करिब तीन सय मानिस भेला भएका थिए । अर्को हप्ता आइतबारे मुहान क्षेत्रमा वृक्षारोपण गरिँदैछ । याे क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । 

खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान थालिएकाले सहभागी हुन खानेपानी उपभोक्ता समितिले सबैमा आह्वान पनि गरेको छ । धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । याे जलाधार क्षेत्रबाट पानी ल्याइ धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया