च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सञ्जालमा इजरायलबाट एक विमान रहस्यमय तरिकाले इस्लामावाद आएको चर्चा व्यापक भएको छ ।
गएको बिहीबार इजरायलबाट पाकिस्तानमा रहस्यमय तरिकाले विमान आएको भन्दै पाकिस्तानमा खैलाबैला नै मच्चिएको छ । राजनीतिक रुपमा पनि त्यसको व्यापक चर्चा भएको छ ।
पाकिस्तान र इजरायलबीच कुनै त्यस्तो कूटनीतिक सम्बन्धबिना इजरायलबाट रहस्यमय तरिकाले पाकिस्तान विमान किन आयो भन्ने विषयले पाकिस्तानमा नेता तथा मन्त्रीबीच जुहारी नै चलेको छ ।
मुलधारका सञ्चारमाध्यमहरुले पनि पाकिस्तानमा किन इजरायली विमान आयो भन्ने समाचारहरु प्रसारण गरेका थिए । तर त्यो विमान इजरायलबाट आए पनि इजरायल सरकारको नभएको खुलेको छ । विमान एक निजी कम्पनीले खरिद गरेको देखिएको छ ।
सबैभन्दा पहिला इजरायलका एक पत्रकारले एउटा विमान इजरायलबाट इस्लामावाद उडेको बताएपछि त्यो घटना फैलिएको थियो । बीबीसी उर्दुले समाचार नै लेखेपछि पाकिस्तानमा त्यसको चर्चा व्यापक भएको हो ।
इजरायली पत्रिका ह्यारेट्जका सम्पादक अभि सर्फले सबैभन्दा पहिला त्यो विमान इजरायलबाट सिधै इस्लामावाद नउडेको बताएका थिए । उनका अनुसार त्यो विमान उडाउने पाइलटले जुक्ति लगाएका थिए ।
landing Istanbul now pic.twitter.com/KQmQBNCoqH
— avi scharf (@avischarf) October 27, 2018
पाइलटले त्यो विमान जोर्डनको राजधानी अम्मानबाट उडेको देखाउने जुक्ति लगाएको तर विमान इजरायलको शहर तेल अभिभबाट उडेको बताइएको छ । बीबीसीले ती पत्रकारको भनाई उदृत गर्दै लेखेको छ, ‘त्यो विमान इजरायलबाट जोर्डनको राजधानी अम्मानमा गएको थियो । त्यहाँ त्यो विमान ५ मिनेट बसेर फेरि पाकिस्तानको राजधानी इस्लामावादतिर उडेको थियो ।’ इजरायलका पत्रकार सर्फले त्यो विमान अक्टोबर २४ अर्थात गएको बिहीबार इस्लामावाद आएको दाबी गरेका छन् ।
बीबीसी उर्दुको त्यो समाचारलाई उदृत गर्दै नवाज सरिफ पक्षका पाकिस्तानका नेता असान इक्बालले इजरायली विमान पाकिस्तान किन आएको भनेर सरकारलाई जवाफ दिन भनेका थिए ।
حقیقی صورتحال یہ ہے کہ عمران خان نواز شریف ہے نہ اس کی کابینہ میں آپ جیسے جعلی ارسطو ہیں، ہم نہ مودی جی سے خفیہ مذاکرات کریں گے نہ اسرائیل سے، آپ کو پاکستان کی اتنی فکر ہوتی جتنی ظاہر کر رہے ہیں تو آج ہم ان حالات میں نہ ہوتے، اس لئے جعلی فکر نہ کریں ،پاکستان محفوظ ہاتھوں میں ہے https://t.co/JUtbZQbArj
— Ch Fawad Hussain (@fawadchaudhry) October 27, 2018
नेता इकबालको त्यो ट्वीटमा जवाफ दिँदै इमरान खान नेतृत्वको सरकारका सूचना मन्त्री फवाद चौधरीले पाकिस्तानमा सुरक्षित व्यक्तिले सत्ताको नेतृत्व गरेकाले पाकिस्तान सुरक्षित छैन कि भनेर चिन्ता नलिन भनेका छन् ।
उर्दु भाषमा लेखिएको ट्वीटमा उनले भनका छन्, ‘वास्तवमा इमरान खान न नवाज सरिफ हुन्, न उनको संसदमा तपाईँजस्तो कोही झुटो अरस्तु नै छन् । हामीले न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गोप्य कुराकानी गरेका छौं, न इजरायलसँग ।’
ती मन्त्रीले त्यो जहाज आएको विषयबारे भने कुनै जानकारी दिएका छैनन् । केही समयपछि पाकिस्तानको नागरिक उड्डयन प्राधिकरण (सीएए)ले विज्ञप्ति जारी गर्दै इजरायली विमान पाकिस्तानमा नआएको बताएको थियो ।
पाकिस्तान र इजरायलबीच कुनै कूटनीतिक सम्बन्ध नभएको र दुवै देशमा एक अर्काका विमान आवत–जावत गर्न नसक्ने सीएएले उल्लेख गरेको छ । त्यहाँको परराष्ट्र मन्त्रालयले पनि इजरायलको विमान पाकिस्तान आएको समाचार झुटो भएको र अफवाह फैलाइएको बताएको थियो ।
तर त्यो विमान क्यानडामा बनेको खुलेको छ । बम्बार्डियर कम्पनीले त्यो विमान निर्माण गरेको खुलेको छ । त्यो विमान अमेरिककाबाट इजरायल आएको र त्यहाँबाट इस्लामावादतिर आएको हुनसक्ने आशंका गरिएको छ । वास्तवमा त्यो विमानले अमेरिकी कूटनीतिज्ञहरु अथवा सैनिकहरु लिएर पाकिस्तान आएको हुनसक्ने आशंका गरिएको छ ।
अमेरिकी जासूसी संस्था सीआईएले पाकिस्तानबाट कैदीहरुलाई अमेरिकाको ग्वान्टानामो खाडीमा लैजान त्यस्तो विमानको प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।
पाकिस्तान आएको त्यो विमान ब्रिटेनको स्वायत्त भू–भाग ‘आइल अफ मेन’मा दर्ता भएको भेटिए पनि त्यसको पूर्ण स्वामित्व कोसँग छ भन्ने नभेटिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
फ्लाइट राडरमा पनि त्यो विमान इस्लामावादमा अवतरण भएको नदेखिएको भन्दै पाकिस्तानमा झनै आशंका व्यक्त गरिएको छ तर बीबीसी उर्दुले त्यो विमान इस्लामावादमा अवतरण भएको देखिएको उल्लेख गरेको छ ।
अर्को अनौठो कुरा के छ भने त्यो विमानको सिरियल नम्बर ९३९४ भए पनि त्यो नम्बरको विमान बिक्रीका लागि धेरैवटा वेबसाइटमा राखिएको छ । अभी सर्फ, इजरायली पत्रिका ह्यारेट्जका सम्पादकले सबैभन्दा पहिला त्यो अनौठो विमानका पाइलटले चलाखी गरेको बारेका ट्वीट गरेका थिए ।
सम्पादक सर्फका अनुसार त्यो विमान इजरायलबाट उडेको थियो । जोडर्नको राजधानी अम्मानमा त्यो विमान केही समय रोकियो र इस्लामावादतिर उड्यो जबकी कुनै पनि इजरायलको विमान वैध रुपमा पाकिस्तान आउन पाउँदैन ।
जब पाइलटले जोर्डनको राजधानी अम्मानमा विमान केही समय रोके, इजरायल–पाकिस्तानको त्यो उडान, जोर्डन–पाकिस्तानका रुपमा पाइलटले परिवर्तन गरे । जोर्डनबाट भने पाकिस्तानमा विमान आउने गर्छ । त्यो चलाखीले एयर ट्राफिक कन्ट्रोलरलाई झुक्याएर विमान इस्लामावाद ल्याइएको पत्रकार सर्फले उल्लेख गरेका छन् ।
पछिल्लो दिन ट्वीट गर्दै ती पत्रकारले त्यो विमान इस्लामावादमा बसेको वा नबसेको बारे केही जानकारी लिन नसकिएको बताएका थिए । निरन्तरको ट्वीटमा उनले त्यो विमान इस्लामावाद आएपछि हराएको बताएका छन् । तर हराएको १० घण्टापछि फेरि त्यो विमान इस्लामावादमा देखिएको उनले उल्लेख गरेका छन् ।
त्यो विमान फेरि दुई हजार फिट तल झरेको र कश्मीरतर्फ लागेको हुनसक्ने उनले उल्लेख गरेका छन् । उनले त्यो विमानले इस्लामावादमा अवतरण गरेको बारे आफू पूर्ण विश्वस्त नभएको बताएका छन् । त्यो विमान कसले लिएर आएको हो भन्ने नखुले पनि विमान पाकिस्तानको राजधानी इस्लामावादमा १० घण्टासम्म रहेको उनले उल्लेख गरेका छन् ।
त्यही सूचनालाई लिएर नेताहरुले इमरान खान सरकारको आलोचना गरेपछि सूचना मन्त्री फवाद चौधरीले पाकिस्तानले भारत तथा इजरायलसँग कुनै गोप्य वार्ता नगरेको स्पष्ट पारेका छन् ।
पाकिस्तानको उड्डयन प्राधिरकण सीएएले भने इजरायली विमान पाकिस्तानमा आएको सूचनाको भत्र्सना गरेको छ । आइतबार पाकिस्तानका अधिकारीहरुले कुनै पनि इजरायली विमान पाकिस्तान नआएको स्पाष्टिकरण निकालेका छन् ।
पाकिस्तान र इजरायलबीच सन् २००५ मा सम्बन्ध बनेको थियो । तत्कालीन पाकिस्तानी विदेशमन्त्री खुर्दिस मेहमुद कुरेसीले इजरायली समकक्षी सिल्भान सालेमसँग सन् २००५ टर्कीमा वार्ता गर्दा पाकिस्तान र इजरायलबीच सम्बन्ध बनेको थियो । तर त्यो सम्बन्ध अहिले नरहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।