च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण शुरु भएको छ ।
म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर हिजाे मंगलवारदेखि परीक्षण थालेको हो । ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सवस्टेसनसम्म ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण हुने भएकाले विद्युतीय तार, पोल तथा स्टेसन आदि संरचना नछुनु होला,’ आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोजनाका प्रमुख विनोद देवकोटाले हेडबक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनको परीक्षण, पुनः परीक्षणपछि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा परीक्षण सुरु गरिएको बताउनुभयो । ‘एक हप्तादेखि आयोजनाले हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टको एक महिनासम्म अनुगमन गर्यौँ,’ उहाँले भन्नुभयो, ‘सबै सूचक न्युट्रल भएपछि परीक्षण उत्पादन शुुरु गरेका हौँ । प्राधिकरणका प्रतिनिधिको रहोबरमा १५ दिन परीक्षण उत्पादनपछि व्यावसायिकरूपमा उत्पादन शुरु गछौँँ।’
२०७४ साल चैतदेखि निर्माण थालिएको आयोजनाले अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत्गृहबाट त्यसै गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सवस्टेसनसम्मको आठ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण गर्न थालेको हो ।
विद्युत् प्रवाह गर्ने क्रममा प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको आयोजनाले जनाएको छ । विद्युत्गृहमा रहेका दुईवटै युनिटका टर्बाइन र जेनेरेटरको परीक्षण सफल भएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका वडा नम्बर ६ अमिलाकाफलस्थित आउटलेटबाट एक हजार दुई सय मिटर पेनस्टक पाइपमा चार सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत्गृहमा जोडिएको छ ।
दुई अर्ब ४१ करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । २०७८ सालमा सक्ने लक्ष्य रहे पनि कोरोना, पहिरो, सडक यातायातको असुविधालगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवर्द्धकले बताएका छन् ।
पोखरेबगरमा रहेको विद्युत्गृहबाट उत्पादित विद्युत् आठ किलाेमिटरमाथि रहेको २२० केभी दाना सबस्टेसनसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइनले जोडिएको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिइ हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।
सिभिल ठेकेदार साउथ एसियन इनफ्रास्ट्रक्चरले भौतिक संरचना निर्माण सकेको हो । विद्युत्गृहको नजिकै स्विचार्ड बनाइएको छ । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।
नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।