च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डौ – सरकारले आजदेखि औपचारिकरुपमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज यो कार्यक्रमको शुरुवात गर्दै हुनुहुन्छ ।
कार्यविधि अनुसार गएको वैशाख १ देखि नै अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्ने तयारी भए पनि प्रधानमन्त्रीको समय नमिलेकाले केही ढिला भएको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताउनुभयो ।
अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिक एकैपटक सबैलाई समेट्न नसकिने भएकाले केही पालिकासँग सम्झौता गरेर कोषमा आबद्ध गराउन थालिने पनि उहाँले जानकारी दिनुभयो ।
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७९, गएको माघमै सार्वजनिक गरिएको थियो ।
यो कार्यविधि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सार्वजनिक गर्नुभएको हो ।
स्वीकृत कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकहरूले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम अर्थात् एक हजार ९ सय १२ रुपैयाँ कोषमा योगदान गर्नुपर्नेछ ।
जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैँले जम्मा गर्नुपर्ने छ भने बाँकी ९ दशमलव ३७ प्रतिशत सरकारले जम्मा गरिदिने व्यवस्था कार्यविधिमा छ ।
तर केन्द्र, प्रदेश तथा पालिकाले यो रकम जम्मा नगरिदिने अवस्थामा भने योगदानकर्ता आफैँले जम्मा गर्नुपर्ने उल्लेख छ । यसरी योगदान गरेपछि श्रमिकहरू कोषबाट सञ्चालित विभिन्न योजनामा सहभागी हुन सक्छन् ।
कोषमा जम्मा भएको रकममध्ये १० दशमलव ३७ प्रतिशत अर्थात् ९ सय ७३ रुपैयाँ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनाका लागि जम्मा हुनेछ ।
त्यस्तै १० प्रतिशत अर्थात् ९ सय ३९ रुपैयाँ वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुने कोषले जनाएको छ।
स्वरोजगारमा रहेका व्यक्तिले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम तीन गुणा बढीसम्मको ३१ प्रतिशत रकम योगदान गर्नुपर्नेछ ।
योगदान रकम कोषले विभिन्न योजनामा बाँडफाँट गर्नेछ । योगदानकर्ता ६० वर्ष भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र त्यो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने योगलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम हरेक महिना जीवनकालभर निवृत्तिरभण भुक्तानी गर्नेछ ।
तर, योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा हकवालाले एकमुष्ट रकम प्राप्त गर्नेछ ।
योगदानकर्ताले निवृत्तिभरण पाउन शुरु गरेपछि मृत्यु भएमा योगदानकर्ताको पति वा पत्नीले निवृत्तिभरण रकमको ५० प्रतिशत रकम जीवनकालभर प्राप्त गर्नेछन् ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिले ऋण, सापटी तथा छुटको समेत सुविधा पाउनेछन् ।
योगदानकर्ताले ६ महिनाभन्दा बढी अवधिको योगदान रकम एकमुष्ट भुक्तानी गरेमा १० प्रतिशत छुट हुनेछ ।
योगदान रकमको एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा रहन्छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४०, आश्रित परिवार सुरक्षा योजनाका लागि २० दशमलव २७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत रहन्छ।
योगदानकर्ताले औषधि, उपचार, स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा सुविधा अन्तर्गत परामर्श सेवा पाउँछन् ।
त्यस्तै अस्पताल भर्ना भइ तथा शल्यक्रियाबापतको शुल्क, रोग परीक्षण तथा उपचारबापतको खर्च, औषधिको बिलअनुसारको खर्च पाइन्छ ।
योगदानकर्ताको पत्नी गर्भवती भइ नियमित गर्भ परीक्षण गराउँदाको खर्च पनि कोषले उपलब्ध गराउँछ ।
अस्पताल भर्ना भइ प्रसूतिसम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च पनि कोषले बेहोर्छ ।
सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित खर्च तथा तीन महिनासम्मको शिशुको उपचारबापत खर्च पनि बेहोर्ने व्यवस्था कार्यविधिमा छ ।
योगदानकर्ता अस्पताल भर्ना भइ उपचार गराउँदा लागेको खर्च सम्बन्धित अस्पताललाई सिधै कोषले भुक्तानी गर्ने छ ।
अस्पताल भर्ना भइ उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्तालाई डाक्टरको प्रेस्क्रिप्सन अनुसार वार्षिक बढीमा २५ हजार रुपियाँसम्म प्रदान गर्ने कोषले जनाएको छ ।
अस्पताल भर्ना भएर उपचार गराउँदा वार्षिक एक लाखसम्म कोषले उपलब्ध गराउँछ ।
अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले औषधि उपचार, दुर्घटना तथा आश्रित परिवार योजनासम्बन्धी सुविधा लिन घटना घटेकोभन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गर्नुपर्नेछ ।
कोषका अनुसार अहिलेसम्म १७ हजार ९ सय ९६ रोजगारदाता प्रतिष्ठान र ती प्रतिष्ठानमा काम गर्ने ६ लाख ३३ हजार ३ सय ३० योगदानकर्ता आबद्ध भैसकेका छन् ।
अहिलेसम्म योगदानबापतको ३६ अर्ब १९ करोड रकम सङ्कलन भइसकेको कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।