श्रीलङ्कामा राजनीतिक संकट, प्रधानमन्त्री को ?

 कात्तिक ११, २०७५ आइतबार १९:१८:७ | रासस
unn.prixa.net

श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दाबी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन् ।

सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त गर्न नमिल्ने तर्क गर्नुभएको छ । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाई छ ।

अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टि नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उहाँले बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त हुनुभएका राजापाक्षेको पार्टीले भने संसदमा राजापाक्षेले बहुमत देखाउन सक्ने दाबी गरेको छ ।

त्यसैगरी अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले पनि संसदमा आफ्नो बहुमत रहेको बताउँदै आउनु भएको छ । आफ्नो बहुमत देखाउन अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले तत्काल संसद बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपति सिरिसेनाले भने शनिबार संसद्को बैठक स्थगित गरिदिनु भएको छ ।

संसदमा आफूमाथि हुन सक्ने चुनौती पन्छाउन उहाँले संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गर्नुभएको हो । राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै यहाँको सुरक्षास्थिति पनि मजबुत पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सबै सुरक्षाकर्मीलाई बिदा रद्द गराएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उहाँले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत गराउनुभएको छ । गएको राष्ट्रपतीय चुनावमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गर्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया