अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर पर्ने ...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
मङ्गलवार उच्च अधिकारीको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सुरुङमार्गको मुख्य टनेल झन्डै चार सय मिटर र 'रेसक्यु टनेल' झन्डै ३५ मिटर खन्न बाँकी रहेकाे भन्दै एक वर्षभित्र गाडी सञ्चालन गर्ने गरी काम अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘नागढुङ्गा–सिस्नेखाेला सुरुङमार्गको मुख्य टनेल झन्डै चार सय मिटर र रेस्क्यु टनेल ३५ मिटरमात्रै 'ब्रेक थ्रु' हुन बाँकी छ । अब सुरुङमार्गमा झन्डै एक वर्षभित्र गाडी सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गर्न सरकार लागिरहेकाे छ ।’
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयाे । उहाँले सङ्घीय राजधानी काठमाण्डाै जोड्नका निम्ति यो आयाेजना निकै महत्त्वपूर्ण भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भएसँगै काठमाण्डाै आउजाउका लागि सजिलाे हुने बताउनुभयो । यो आयोजनामा जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको सात अर्ब जति लगानी गरेको बताउनुभयो । अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने उहाँकाे भनाइ छ ।
मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । २ दशमलव ६८ किलोमिटर लम्बाइ रहेको सुरुङमार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई वटा सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।