पयर्टन प्रवर्द्धनका लागि भोजपुरको हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

 साउन ३, २०८० बुधबार ९:५१:४९ | रासस
unn.prixa.net

काठमाण्डौ – भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गर्दैछ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो ।

एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिनुभयो । पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा यस वर्ष एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उहाँको भनाइ छ ।

‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, ‘हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ । यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’

पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ ।

दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उहाँले जानकारी दिनुभयो । ‘यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ । भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’

हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ।

यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन  गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । किरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत् यहाँको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ । हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ ।

‘हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो,’ उहाँले भन्नुभयो, ‘यहाँको छुट्टै विशेषता छ । हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ । यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ ।’ यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रुपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताउनुभयो । पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा स्थापित गराउने लक्ष्य रहेको उहाँको भनाइ छ । 

हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडाहुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ  समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको  छ । पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताउनुभयो । पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको सङ्ख्यामासमेत वृद्धि भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया