राष्ट्रपति भण्डारी कतार प्रस्थान

 कात्तिक १२, २०७५ सोमबार १२:५८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गर्नु भएको छ । 

राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गर्नु भएको हो । 

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाई गर्नु भएको थियो । अस्वस्थ भई अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी हुन सक्नु भएन । राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो ।

कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो । यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि कतारको राजकीय भ्रमण गर्नु भएको थियो । झण्डै चार लाख बढी नेपालीहरु कार्यरत रहेको कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको सम्बन्ध र सहयोगलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । राष्ट्रपति भण्डारीले त्यस क्रममा कतारका अमिर तमिमसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । त्यसक्रममा उहाँले त्यहाँ रहेका नेपाली व्यवसायी र समुदायसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानीसम्बन्धी छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत हुनुहुन्छ । राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ । 

राष्ट्रपतिको अनुपस्थितिमा उहाँको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनले सम्हाल्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया