सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ, थप १५ दिन हिरासतमा राख्न अनुमति

 साउन १५, २०८० सोमबार ७:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट झण्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए।

दावाले हङकङबाट आएको तस्करीको सुन भारत पुर्याउन काठमाण्डौमा व्यवस्थापकको भूमिका निर्वाह गरेको आशङ्का छ । उनकै योजनामा टोखामा तस्करीको सुन गाल्ने कारखाना सञ्चालन भएको पनि खुलेको छ । यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईसहित रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राईलाई पक्राउ गरेको थियो ।

३ गते  तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र ४ गते चिनियाँ नागरिक झियाङ निल पक्राउ परेका थिए । ४ गते नै राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो ।

तस्करीको सुन भन्सारबाट पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल तथा भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

तस्करीमा संलग्न चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ पनि पक्राउ परेका छन् । आरोपित सबैलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया