नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
बाग्लुङ - बाग्लुङकाे गलकाेट नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लिन घरघरै गाडी पुग्नेगर्छ । समायोजन र तह मिलानपछि विद्यालयबाट टाढा घर भएका बालबालिकालाई आउजाउ गर्न सहज हाेस् भन्ने उद्देश्यले नगरपालिकाले गाडीकाे व्यवस्था गरिदिएकाे हाे ।
यातायातको सुविधा भएपछि आजभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । आफूलाई घरमै गाडी लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपर्छ ।
विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किँदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले भ्यानमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेकाे जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताइन् । थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताइन् ।
'बिहान ८ नबज्दै स्कुल हिँड्नुपर्थ्याे, ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिँड्नुपर्थ्याे, अहिले त जति पानी परे पनि समस्या हुँदैन', थापाले भनिन्, 'घरमा आएर समयमै गृहकार्य गर्न पाइन्छ, बिहान स्कुल जान हतार गर्नु पनि पर्दैन, सानासाना भाइबहिनी पनि गाडी आउन थालेपछि स्कुल जान खोज्छन्, रमाइलो पनि हुन्छ, सजिलो पनि भएको छ, अब घर पुग्दा रात पर्ने चिन्ता, स्कुल जाँदा ढिलो होला भन्ने पीर हरायो ।'
नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताउनुभयो । उहाँले गाडी सञ्चालनमा आउनुपूर्व बिहान विद्यालय पुर्याउन जाने र बेलुका ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइ दिने भएपछि धेरै सहज भएको बताउनुभयो । आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्ने अवस्था आएको उहाँको भनाइ छ । टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।
'पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो, अप्ठेरो बाटो कतै लडेकी, चोटपटक लगाएकी भन्ने डर हुन्थ्यो, बिहान लैजान र बेलुका ल्याउन जानुपर्ने बाध्यता थियो, अहिले बिहान सरसफाइ गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ, बेलुका आफैँले ल्याइ दिने हुँदा ढुक्क भएका छौँ' उहाँले भन्नुभयो, 'नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठूलो काम गर्यो, यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यवाद दिनुपर्छ, केटाकेटीको पढाइ पनि राम्रो हुनेछ अब ।'
गलकोट नगरपालिकाले यस वर्ष पाँच वटा विद्यालय तह मिलान र छ वटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त) ले जानकारी दिनुभयो । गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उहाँको भनाइ छ ।
वडा नम्बर ७ मा रहेकाे मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उहाँको भनाइ छ । विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
भण्डारीले भन्नुभयो, 'यस वर्षदेखि टाढाका विद्यार्थीलाई गाडी उपलब्ध गराएका छौँ, हरेक दिन गाडी विद्यार्थीको घरमै लिन जान्छ, दूरीका आधारमा यातायात सुविधा उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्ने पहिलो चरणमा छौँ, अहिलेसम्म बाहिरबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौँ, आउँदाे वर्षदेखि अझै प्रभावकारी बनाउने योजना छ ।'
नतिजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षासमेत नगरपालिकाले लिने उहाँले बताउनुभयो । शिक्षिका सुत्केरी बिदामा भएको बेला सट्टा शिक्षक राख्ने कार्यक्रमसमेत ल्याइएको उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।