नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीमा रहेकाे शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययन अध्यापनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
केही हप्ताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्न समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । 'जस्तापाता पूरै उडाएकाे छ, पालिकालाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन', उहाँले भन्नुभयो, 'विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।'
कोरोनाका समयमा निर्माण शुरु गरिएको दुई कोठे भवन अहिलेसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।
'न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ', कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, 'भूइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।' हावाले उडाएकाे जस्ता फेर्न पालिकाले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।
पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएकाले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा जोखिम बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षातका समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।
'खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?' विद्यार्थी वर्षा ओडले भन्नुभयो, 'विद्यालयको पर्खाल नहुँदा स-साना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।'
नजिकै राष्ट्रिय निकुञ्ज भएकाले वन्यजन्तु विद्यालय परिसरमा आउने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नुपर्ने प्रधानाध्यापक विष्टले बताउनुभयो । 'विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ', उहाँले भन्नुभयो, 'खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।