सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति, आजदेखि संसद् खुल्ने विश्वास

 भदौ ५, २०८० मंगलबार ८:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो ।

समितिको मोडालिटी तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समितिले सहमतिको मस्यौदा तयार पारेर आज बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने बताउनुभयो । शीर्ष नेताको बैठक आज दिउँसो २ बजे बस्ने तयारी छ ।

छलफल सकारात्मक भइरहेकाले आजको बैठकपछि संसद्को गतिरोध हट्ने नेताहरुको विश्वास छ । संसद् खुलाउने वातावरण बनेकाले आजदेखि संसद् खुल्ने अपेक्षा गरिएको छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि राखिएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल एमालेले ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै गएको साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

सत्ता पक्षले भने उच्चस्तरीय समितिको आवश्यकता नरहेको भन्दै सीआईबीले नै अनुसन्धान गर्ने अडान राख्दै आएको थियो । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शु भित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया