‘वैदेशिक रोजगारीमा जान चाहनेलाई प्रलोभनमा पार्ने र ठगी गर्ने माध्यम सामाजिक सञ्जाल भएको छ’

 भदौ ५, २०८० मंगलबार १६:२:१८ | कविराज उप्रेती
unn.prixa.net

अहिले जति पनि वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई  प्रलोभनमा पार्ने माध्यम भनेकै सामाजिक सञ्जाल भएको छ । यसका लागि सबैभन्दा धेरै टिकटकको प्रयोग व्यापक रूपमा भइरहेको छ । 

कुनै एउटा पेज बनाउने तर त्यहाँ वैदेशिक रोजगारीमा पठाउने संस्थाको नाम पनि स्पष्ट नराख्ने, लोकेसन कहाँ छ त्यो पनि नदिने, ठेगाना नभन्ने तर यो नम्बरमा सम्पर्क गर्नुहोस् भनेर नम्बरहरू उपलब्ध गराउने प्रवृत्ति बढ्दो छ । 

अब यहाँ बुझ्न पर्ने कुरा के हो भने यसरी कोही पनि व्यक्तिले व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउन सक्ने नेपालमा प्रावधान छैन । 

नेपालबाट वैदेशिक रोजगारीमा जाने माध्यमहरू

अहिले नेपालबाट वैदेशिक रोजगारीमा जाने तीन वटा माध्यम अपनाइएको छ । सरकारले नै अर्को देशको सरकारसँग सम्झौता गरेर जीटुजी माध्यममार्फत पठाउने एउटा माध्यम छ ।

यस्तै इजाजत पत्र लिएर इजाजतपत्रवाला संस्थाले वैदेशिक रोजगारीमा पठाउन सक्नुहुन्छ । जसलाई हामी चलनचल्तीको भाषामा म्यानपावर पनि भन्ने गर्छौँ । 

अर्को व्यक्तिगत रूपमा पनि श्रमिकहरू वैदेशिक रोजगारीमा जान सक्नुहुन्छ । कोही पनि नेपाली नागरिकले आफ्नो पहलमा कुनै देशको कुनै कम्पनीले उहाँहरूलाई अफर गरेको छ र उहाँहरू त्यस काममा जान चाहनु भयो भने जस्तै कुन काममा, कति तलबमा, कति समयको लागि जाने हो भन्ने जस्ता विवरण खुलाएर कम्पनीसँग समन्वय गरी त्यो कम्पनीले पठाएको कागजपत्र हाम्रो नेपाली दूतावासले प्रमाणित गरिदिएको आधारमा मात्रै उहाँहरू जान पाउनुहुन्छ ।

हामीले के बुझ्न आवश्यक छ भने कति पैसा लाग्छ, कुन कम्पनीमा जाने हो, त्यसले कति समयको लागि करार गर्दै छ र त्योसँग आफ्नो सीप मेल खान्छ कि खाँदैन भन्ने कुरा चाहिँ श्रमिकहरू आफैँले बुझ्न पर्‍यो ।

नेपालबाट वैदेशिक रोजगारीमा जानका लागि अहिले नेपालमा भइरहेको अभ्यास र कानुनी रूपमा गर्नु पर्ने प्रक्रिया यो हो । तर अहिले सामाजिक सञ्जालमार्फत टिकटकजस्ता माध्यममार्फत तपाईँ विदेश जान चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् भनेर विज्ञापन गर्ने गरेको पाइन्छ ।

व्यक्तिगत रूपमा जति पनि पैसाको डिल गर्ने गरेको पाइन्छ । हामी नेपालीहरू यस्तै झुटा कुराहरूलाई सजिलै विश्वास गर्ने र अलिक इमानदार र सोझा भएकोजस्तो पनि देखिएको छ । पोर्चुगल पठाइदिन्छु, क्यानडा पठाइदिन्छु भन्दै उसको दिमागमा जति पैसा आउँछ त्यति पैसा भनेर ठगेको अवस्था छ । 

हामीले के बुझ्न आवश्यक छ भने कति पैसा लाग्छ, कुन कम्पनीमा जाने हो, त्यसले कति समयको लागि करार गर्दै छ र त्योसँग आफ्नो सीप मेल खान्छ कि खाँदैन भन्ने कुरा चाहिँ श्रमिकहरू आफैँले बुझ्न पर्‍यो ।

र अर्को पाटो जसले पठाउँछु भन्दै छ त्यो मानिसको आधिकारिकता के हो, त्यो मान्छेको संस्था कहाँ छ, कालो सूचीमा पो परेको छ कि, त्यो संस्थाले कारोबार गर्न पाउने हो कि होइन पहिला नै पनि श्रमिक पठाएर अलपत्र पो पारेको थियो कि, कम्तीमा यति कुरा बुझेर मात्र अघि बढ्नुभयो भने ठगीमा पर्नबाट जोगिन सकिन्छ । 

अनुमति बिना सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गर्नु गलत

विभागसँग अनुमति नै नलिई सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको पाइएपछि दुई वटा म्यानपावरलाई विभागले कारबाही गरिसकेको छ । किनकि म्यानपावर कम्पनीले पनि वैदेशिक रोजगार ऐन २०६४ ले तोके अनुसारको कारोबार र काम गर्नु पर्ने हुन्छ ।

एउटा म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीको कागजात प्रयोग गर्न पाउँदैनन् । म्यानपावरले संस्थागत रूपमा पठाउनु पर्ने हुन्छ । हाम्रो विभागले वा विभाग अन्तर्गतका कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीको कारोबार गर्न पाइन्छ ।

यति मानिस म पठाउँदै छु भनेर पूर्व स्वीकृति विभागसँग लिन पर्छ । त्यो पूर्व स्वीकृति लिएको आधारमा यो, यो दिनमा हामी अन्तरवार्ता गर्दै छौँ, यो अन्तर्वार्तामा सफल भएका मानिसलाई यो प्रक्रियामार्फत हामी यसरी विदेश पठाउँछौँ भनेर विज्ञापन गर्नु पर्ने हुन्छ । तर हामीले कारबाही गरेको संस्थाहरूमा के देख्यौँ भने न त कानुनी रूपमा विज्ञापन गरिएको छ न त विभागबाट पूर्व स्वीकृति लिएको छ ।

म्यानपावर चलाउँछु भनेर व्यक्तिगत रूपमा विभागसँग स्वीकृति नलिई पनि पठाउन पाउनुहुन्न । उहाँहरूले उमेर नपुगेका मानिसहरूलाई पठाउन पाउनुहुन्न ।

त्यसकारण के देखियो त भन्दा म्यानपावर चलाउने सञ्चालक ज्युहरुलेसमेत कहीँ कतै व्यक्तिगत रूपमा त मान्छे पठाउन लाग्नुभएको हैन ? यदि हो भने त्यो वैदेशिक रोजगार ऐनको विपरीत हुन जान्छ ।

त्यसो भएको हुनाले हामीले वैदेशिक रोजगार ऐनलाई कार्यान्वयन गर्नको लागि, व्यक्तिहरू ठगीमा नपर्नुहोस् भन्नका लागि, धेरै पैसा तिर्न नपरोस् भनेर जे प्रावधान हो त्यसको आधारमा मात्रै कार्यान्वयनमा जाओस् र कारबाही गर्न सकियोस् भन्ने हिसाबले कानुन अनुसारको प्रक्रिया नगर्ने म्यानपावर व्यवसायीलाई समेत कारबाही गरिएको हो ।

म्यानपावर व्यवसायीले संस्थागतरुमाप मात्रै पठाउन पर्ने हुन्छ । केही कुराहरू तोकिएको छ जस्तै नेपाल सरकारले खुला नगरेको देशमा पनि उहाँहरूले पठाउन पाउनुहुन्न । म्यानपावर चलाउँछु भनेर व्यक्तिगत रूपमा विभागसँग स्वीकृति नलिई पनि पठाउन पाउनुहुन्न । उहाँहरूले उमेर नपुगेका मानिसहरूलाई पठाउन पाउनुहुन्न । यस्ता केही प्रावधानहरू छन् त्यो विपरीत काम भयो भने त कारबाही भइनैहाल्छ ।

यसका साथै दुई वटा कन्सल्टेन्सी नामको आइडी प्रयोग गरेर पनि केही व्यक्तिहरूले कतार, क्यानडाजस्ता देशमा वर्किङ भिसामा लैजान्छौ भनेर यति तलबको ग्यारेन्टी छ भन्दै विज्ञापन गरेको पाइयो । यस्ता भ्रमपूर्ण सूचना गरेको पाएपछि दुई कन्सल्टेन्सीमा विभागको आकस्मिक अनुगमन टोलीले छापा मारेर सबै कागजात बरामद गरी विभाग ल्याएको छ । अहिले यस उपचारमा अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जालमार्फत आएका विज्ञापनको सत्य तथ्य जाँच गरौँ

सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुँदैनन् । अझ वैदेशिक रोजगारीको विज्ञापनमा त विश्वास गरिहाल्न हुँदैन । सामाजिक सञ्जालमा आएका विज्ञापन सही हो कि होइन भनेर जाँच्ने विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ।

वैदेशिक रोजगार विभागको वेबसाइट छ । वेबसाइटमा गएर हेर्नुभयो भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कति कति अनुमति लिएको छ, कुन पेसाको लागि कुन देशको लागि कति सङ्ख्यामा माग भएको छ र त्यो कामको लागि अन्तरवार्ता कहिले हुँदै छ भनेर थाहा पाउन सकिन्छ । 

हाम्रो अनुरोध के हो भने वैदेशिक रोजगारीमा जाने श्रमिकहरू कुनै पनि हालतमा ठगीमा पर्न भएन । हामीले प्रसारित गरेका सूचनाहरू श्रमिकहरूले हेरेर बुझ्न पर्‍यो र आफैँ सचेत हुन पर्‍यो ।

यस्तै सरकारले ल्याएको नागरिक एपमा पनि वैदेशिक रोजगार विभाग भनेर भेटिन्छ । त्यहाँ गएर पनि कुन देशबाट कति कामको माग आएको छ भन्ने जानकारी पाउन सकिन्छ । त्यहाँ कामको माग हेर्ने र त्यस अनुसार आफ्नो सीप मेल खान्छ कि खाँदैन भन्ने कुरा हेर्‍यो भने बल्ल ठगीमा पर्ने सम्भावना कम हुन्छ ।

अन्यथा टिकटक फेसबुकमा त अधिकांश नै झुटो विज्ञापनहरू देखिएको छ । यसको निगरानीका लागि अहिले हामीले डोफे डिजी भनेर टिकटक पनि खोलेको छौँ । यसमार्फत वैदेशिक रोजगारी कसरी सुरक्षित हुन्छ, कस्ता सूचनामा भर पर्ने लगायतका विविध जानकारी समेट्छौँ । यदि कसैले यस्तो विज्ञापन गरेको पाइयो र झुटो रहेछ भने यो विज्ञापन झुटो हो भनेर टिकटकलाई नै पनि रिपोर्ट गरिदिने गरेका छौँ ।

यसो गर्दा टिकटकले पनि यस्ता विज्ञापनहरू हटाइदिइरहेको छ । त्यसकारण हाम्रो अनुरोध के हो भने वैदेशिक रोजगारीमा जाने श्रमिकहरू कुनै पनि हालतमा ठगीमा पर्न भएन । हामीले प्रसारित गरेका सूचनाहरू श्रमिकहरूले हेरेर बुझ्न पर्‍यो र आफैँ सचेत हुन पर्‍यो ।

अहिले सूचना लिन गाह्रो छैन । सुरक्षित आप्रवासन सामी कार्यक्रममार्फत राहदानी बनाउन जाँदा नै पनि सूचना पाउन सकिन्छ । यो कार्यक्रममार्फत  वैदेशिक रोजगारी सम्बन्धी सही सूचना दिनेदेखि वैदेशिक रोजगारीमा जानेहरूलाई सीप तालिममा जोड्नेसम्मको काम भइरहेको छ ।

त्यसकारण तपाईँ यदि वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने यहाँबाट पनि सही सूचना लिन सक्नुहुन्छ । साथै श्रम मन्त्रालयको कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर पनि यस्ता जानकारी लिन सकिन्छ ।

वैदेशिक रोजगारीको विज्ञापनको प्रावधान

ऐन अनुसार अहिले म्यानपावर कम्पनीहरूले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गर्नु पर्ने प्रावधान छ । त्यसका साथसाथै वैदेशिक रोजगार विभागको वेबसाइटमा पनि उहाँहरूले पठाउनुहुन्छ । र म्यानपावरहरूले आफ्नै वेबसाइटमा राखेर पनि डिटेल देखाउन सक्नुहुन्छ ।

कुनै व्यक्तिले संस्थागत नभई आफ्नो व्यक्तिगत आइडीबाट विदेश लैजान्छु, यति पैसा लाग्छ, फलानो नम्बरमा सम्पर्क गर्नुस् भनेकै आधारमा विश्वास गर्दा भने ठगिने सम्भावना हुन्छ र अहिले भइरहेको पनि यही हो ।

तर टिकटकमा, फेसबुकमा उहाँहरूले राख्न पाउनुहुन्छ कि पाउनुहुन्न भन्ने कुरामा चाहिँ स्पष्ट छैन । तर म्यानपावरहरूले पूर्व स्वीकृति लिएर गरेको विज्ञापनमा त सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएर धेरैभन्दा धेरै व्यक्तिहरुबीचमा प्रतिस्पर्धा गराई सही व्यक्ति त्यो काममा जान पाउनुभयो भने त सकारात्मक नै हो जस्तो मलाई लाग्छ । यसले ठुलो असर पार्दैन ।

तर  तर हामीले  बुझ्नु पर्ने कुरा के हो भने कुनै व्यक्तिले संस्थागत नभई आफ्नो व्यक्तिगत आइडीबाट विदेश लैजान्छु, यति पैसा लाग्छ, फलानो नम्बरमा सम्पर्क गर्नुस् भनेकै आधारमा विश्वास गर्दा भने ठगिने सम्भावना हुन्छ र अहिले भइरहेको पनि यही हो ।

सामाजिक सञ्जालमार्फत विज्ञापन गर्नेहरूको कार्यालय पनि हुँदैन । पैसा कति लिनुहुन्छ त्यो पनि टुङ्गो हुँदैन । जति बढी पैसा लिन सकिन्छ त्यति लिनुहुन्छ । त्यसकारण यस्ता झुटबाट बच्न जरुरी भएको हो । सही कुन हो र गलत कुन हो भनेर छुट्ट्याउन आवश्यक छ ।

त्यसका लागि विभागको वेबसाइटमा हेर्ने एउटा पाटो भयो । नागरिक एपमा हेर्ने अर्को पाटो भयो । त्यसका साथै अहिले ट्रेन्डमा आएको कुरालाई जाँच गर्ने तरिकाहरू भने संस्थागत हो कि होइन, यसको अफिस छ कि छैन र यसले विभागसँग स्वीकृति लिएको छ कि छैन भन्ने कुरा मात्रै याद गरेमा पनि ठग्नेहरूबाट बच्न सकिन्छ ।

दूतावासबाट स्वीकृत भएर कति कामको माग आएको छ भनेर दैनिक रूपमा विभागको वेबसाइटमा अपडेट भइरहेको हुन्छ । तपाईँलाई कोही व्यक्ति वा म्यानपावरले देखाएको कामको माग सही हो कि होइन भनेर एक क्लिकमै तपाईँले थाहा पाइहाल्नुहुन्छ ।  त्यसकारण चाहे म्यानपावरले गरोस्, चाहे अरू कुनै संस्था वा व्यक्तिले देखाएको सपनालाई जाँच तपाईँले नै गर्न पर्छ । 

यस्तै म्यानपावरको सन्दर्भमा चाहिँ कुन म्यानपावरमा म अन्तरवार्ता दिँदै छु भन्ने कुरा ध्यान दिन आवश्यक छ । जस्तै म्यानपावरको नाम हेर्ने, कागजमा कुन म्यानपावर लेखेको छ त्यो म्यानपावर हो कि होइन भन्ने कुराहरू अलिकति अध्ययन गरिदिनुभयो भने आफूले आफूलाई नै ठगीमा पर्नबाट बचाउन सकिन्छ । 

सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा विभागको निगरानी

सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दा विभागले थाहा पाउदैन भन्ने हुन्छ कि भनेर विभागले यसको निगरानीकै लागि आफ्नो छुट्टै टिकटक अकाउन्ट खोलिसकेको छ । गैरकानुनी विज्ञापन आएका त्यसलाई नै टेकेर विभागले अनुगमन गर्न पनि थालिसकेको छ । 

जबसम्म भ्रमपूर्ण विज्ञापनलाई वैदेशिक रोजगारीमा जानुहुने तपाईँहरूले सहजै विश्वास गर्नुहुन्छ तबसम्म ठगी झन् बढ्न सक्छ । त्यसले गर्दा हाम्रो अनुगमन पनि फितलो रहन सक्छ ।

सामाजिक सञ्जालमार्फत अहिले भइरहेको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयले एउटा छुट्टै कमिटी पनि बनाइसकेको छ । मन्त्रालयकै एक जना उपसचिवको संयोजकत्वमा गठन भएको यो कमिटीले  भ्रमपूर्ण सूचनालाई कसरी चिर्न सकिन्छ र कसरी सही सूचना दिन सकिन्छ भनेर गृहकार्य गरिरहेको छ पक्कै पनि केही उपायहरू पहिल्याउने छ । त्यसका आधारमा पनि विभागले गर्न पर्ने कामहरूमा थप अघि बढ्छ ।

अहिले विभाले अनुगमनलाई पनि तीव्र बनाएको छ । हाम्रो यो अभियानमा वैदेशिक रोजगारीमा जान चाहने तपाईँहरूको सहयोग आवश्यक छ । सूचना गलत हो कि सही भनेर तपाईँहरूले छुट्टाइदिन पर्छ । यति मात्र गरिदिनुभयो भने पनि यो समस्या कम भएर जान्छ ।

जबसम्म भ्रमपूर्ण विज्ञापनलाई वैदेशिक रोजगारीमा जानुहुने तपाईँहरूले सहजै विश्वास गर्नुहुन्छ तबसम्म ठगी झन् बढ्न सक्छ । त्यसले गर्दा हाम्रो अनुगमन पनि फितलो रहन सक्छ ।

त्यसकारण वैदेशिक रोजगारीमा जाने व्यक्तिले यो विज्ञापन सही हो त भनेर एक पटक हेरिदिनुभयो भने मात्र पनि अहिले सामाजिक सञ्जालमार्फत भइरहेको ठगी धेरै हदसम्म नियन्त्रण हुन्छ । 

(उप्रेतीसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।) 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कविराज उप्रेती

उप्रेती वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया