बाल सुधार गृहबाट फरार थप १० जना पक्राउ

 भदौ ६, २०८० बुधबार ६:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमवार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ ।

सोमवार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये हिजो दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

फरार रहेकामध्ये सोमवार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र थप १० जनालाई हिजाे उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतवार बिहान ज्यान गएपछि सुधार गृहमा शुरु भएको घटनाले सोमवार भयावह रुप लिएको थियो ।

सोमवार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रृग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो ।

घटनामा १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए । केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्‍याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन ।

मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

उहाँले मृतकका परिवारसँग भएको छलफलमा भोलि जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

सुधार गृहभित्र आइतवारबाट भएको घटनाले उग्ररुप लिए पछि तीन दिनदेखि त्यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया