एनओसी नलिइकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

 भदौ ६, २०८० बुधबार १०:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनुभयो ।

अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव काप्रीले सम्बद्ध निकायले सूचना मार्फत् विद्यार्थीलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा तथ्याङ्कगत अध्ययन रहेकोमा पनि जोड दिनुभयो ।

उहाँले नियमनकारी निकायको प्रभावकारीता नदेखिँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले समन्वय नगर्दा समस्या निम्तिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भारत सरकारले एक सय ५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये धेरैजसो सीमा क्षेत्रमै स्थापना भएका बताउनुभयो । 

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थालाई राज्यले उपेक्षा गर्न खोजेको बताउनुभयो ।

पछिल्लो समय चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा मतभेद हुँदा नर्सिङ शिक्षामा समस्या उत्पन्न भएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया