संसद खुलाउन दलहरुको बैठक बस्दै, उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पेश हुने

 भदौ ६, २०८० बुधबार ११:४१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संसद खुलाउने विषयमा छलफल गर्न सत्ता पक्ष र प्रतिपक्ष दलका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

बैठक हिजो नै बस्ने भनिए पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज बस्न लागेको हो ।

बिहान ११ बस्ने बैठकमा ६० किलो सुन तस्करीको छानबिनका लागि बनाइने भनिएको उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पेश गर्ने तयारी छ ।

हिजो सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको थियो ।

कार्यदलमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गरे पछि अस्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित बैठकले उच्चस्तरीय समिति बनाउन सहमति गर्दै कार्यदल बनाएको थियो ।

यस पछि हिजो बैठक बसेर संसद खुलाउन सहमति गर्ने भनिएको थियो । 

साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

यसबीचमा सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल गर्नु भएको छ ।

छलफल सकारात्मक भएकाले आज टुंगोमा पुग्ने नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया